बिर्तामोड :  गृह मन्त्रालयको ७७ वटै जिल्लाको तीन महिने कार्यसम्पादन मूल्यांकनमा डडेल्धुरा जिल्ला प्रशासन कार्यालय पहिलो बन्न सफल भएको छ ।

डडेलधुराका प्रमुख जिल्ला अधिकारी चौमेन्द्र न्यौपाने छन् । झापाका उनी गत बैशाखदेखि डडेल्धुरामा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत छन् ।

२९ दशमलव ५ पूर्णाङ्क रहेको मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले २९ दशमलव ०७५ अंक ल्याउन सफल भएको छ ।

२०६० सालदेखि निजामती सेवामा कार्यरत न्यौपाने २०६३ सालबाट निरन्तर गृह मन्त्रालय मातहतमा सेवारत रहेका छन् ।

उनी सोलुखुम्बुमा सहायक प्रमुख जिल्ला अधिकारी हुँदै कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए ।

त्यस्तै, रसुवामा पनि प्रमुख जिल्ला अधिकारी भइसकेका न्यौपानेले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा निर्देशकका रुपमा काम गरिसकेका छन् ।

डडेलधुरामा प्रमुख जिल्ला अधिकारी हुनुअघि न्यौपाने झापामा सहायक प्रमुख जिल्ला अधिकारी थिए ।

मन्त्रालयले मातहतका जिल्ला प्रशासन कार्यालयहरुको कार्य सम्पादनका लागि ६० भन्दा बढी सूचकहरू तयार पारेको थियो ।

जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुरक्षा योजना, कारागारको सुरक्षा, स्थानीय तहमा शान्ति सुरक्षा तथा सेवा प्रवाह, राजमार्ग अवरोधरहित सञ्चालन गर्ने कार्ययोजना निर्माण र कार्यान्वयनका विषयहरू सूचकका रुपमा रहेका थिए ।

त्यस्तै, अन्तर्राष्ट्रिय सीमा सुरक्षा, मुद्दाहरूको फछ्र्यौट, द्वन्द्वपीडितहरुको राहत वितरण तथा भत्ता वितरण, नागरिकता तथा पासपोर्ट वितरण, राजस्व चुहावट नियन्त्रणका विषय पनि मूल्यांकनको सूचकमा थिए ।

त्यस्तै, उपभोक्ताहित बजार अनुगमन, लागुऔषध नियन्त्रण, विपत जोखिम न्यूनीकरण लगायतका विषय पनि समावेश रहेको गृहमन्त्रालयले जनाएको छ ।

यी सूचकहरूमा सर्वोत्कृष्ट काम गरेको भन्दै डडेलधुरा जिल्ला प्रशासन कार्यालय पहिलो बन्न सफल भएको न्यौपानेले बताए ।