झापा ।
झापामा सशस्त्र प्रहरीको नवनिर्मित चार वटा कार्यालय भवनको आज शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेटक्वाटर झापाले प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरमा आयोजना गरेको समारोहमा सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति तथा डीआइजी शम्भु सुवेदीले एकसाथ चारवटा कार्यालय तथा ब्यारेक भवनको उद्घाटन गरेका हुन् ।
डीआइजी सुवेदीले प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर, काँकडभिट्टा, बोर्डर आउट पोस्ट ज्यामिरगढी र महेशपुरको नवनिर्मित भवन उद्घाटन गरेको एसपी कबिन्द्र राईले जानकारी दिए ।

_1736908732.jpg)
उद्घाटन कार्यक्रममा बोल्दै डीआइजी सुवेदीले अन्तर्राष्ट्रिय सीमाको निगरानी र सीमावासीको सुरक्षाका लागि कोशी प्रदेशका ४८ वटा बोर्डर आउट पोस्टले ६८९.३ किलोमिटर सीमाको रक्षा गरिरहेको बताएका छन् ।

खुल्ला सीमाना र भौगोलिक बनावट कारण सीमा सुरक्षामा चुनौती रहेको बताउँदै डीआइजी सुवेदीले भने, ‘यति हुदाँहुदै पनि पर्याप्त कार्यादेश, सङ्गठनको मान्यता र नेपाल सरकारको निर्देशनको पालना गरी काम गरिरहेका छौँ ।’
कार्यक्रममा बिओपी महेशपुरलाई निःशुल्क जग्गा दिने मायाराम महतो र कमलेश्वर महतोलाई दोसल्ला ओढाएर प्रशसापत्रले सम्मान गरिएको थियो ।
त्यसैगरी भवन निर्माण तथा जग्गा प्राप्तिमा सहयोग पु¥याउने भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका, सम्बन्धित वडा कार्यालयहरू, निर्माण कम्पनी र सशस्त्र प्रहरी कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य, नेपाली काँग्रेसका झापा सभापति देउमान थेबे लगायतले मन्तव्य राखेको कार्यक्रमको औचित्य तथा भवनको बारेमा प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर डीएसपी चिरञ्जीवी प्रसाईँले जानकारी गराएका थिए ।