बिर्तामोड । यो वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मानबाट दार्जिलिङका साहित्यकार दान खालिङ मरणोपरान्त सम्मानित हुने भएका छन् । 

पूर्ण टुङ्ग आदर्श नागरिक सम्मान भारत दार्जिलिङका प्रसिद्ध साहित्यकार तथा शिक्षासेवी दान खालिङलाई प्रदान गरिने भएको छ । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक लाख एक हजार रुपैयाँ पुरस्कार राशिको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान खालिङलाई प्रदान गर्न लागिएको प्रतिष्ठानका सभापति गोपालकुमार बस्नेतले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

खालिङको कामको उच्च सम्मान गर्दै यही फागुन ३० गते बिर्तामोडमा एक समारोहका बीच सो सम्मान प्रदान गरिने पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानले जनाएको हो । यसअघि सो पुरस्कारबाट पहिलो पटक नेपालका ख्यातिप्राप्त कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा दोस्रो पटक पञ्चायत बिरोधी आन्दोलनका योद्वा याम भण्डारी र दिव्य भुर्तेल पुरस्कृत भइसकेका छन् ।

प्रतिष्ठानको पुरस्कारसँँगै बिर्तामोडमा रहेका अन्य शैक्षिक प्रतिष्ठानले पनि नगद पुरस्कार प्रदान गर्ने तयारी रहेको जनाइएको छ । प्रतिष्ठानले  २ लाख ५० हजार भन्दा बढि रकम खालिङको स्मृतिमा समर्पण गर्ने तयारी भइरहेको जनाएको छ । 

नेपालमा शिक्षा, साहित्य तथा राजनीतिक चेतना विस्तारका लागि अहोरात्र सक्रिय खालिङलाई सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य बनाएको थियो । उनको २०७३ भदौ २१ गते ८९ बर्षको उमेरमा भारतको सिलिगुडीमा निधन भएको थियो ।