शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ८ मा रहेको शनिश्चरे फुटबल क्लबले ८ देखि १३ वर्ष उमेर समूहका बालबालिका लक्षित ग्रासरुट फुटबल ट्रेनिङ सञ्चालन गर्ने भएको छ । आइतबार आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा उक्त ट्रेनिङ सञ्चालन गर्ने योजना रहेको क्लबका सल्लाहकार एवम् प्रतियोगिता संयोजक टेकराज तिलिङले जानकारी दिएका हुन् ।
अर्जुनधारा ७ स्थित अर्जुनधारा खेलमैदानमा सञ्चालन हुने ट्रेनिङको अवधि तीन महिना हुनेछ । पालिकाभित्रका इच्छुक बालबालिका सहभागी हुनसक्ने उक्त ट्रेनिङका सहभागीहरुसँग न्यूनतम शुल्क लिने बताइएको छ । विगत तीन वर्षदेखि वडास्तरिय हुँदै जिल्लास्तरीय अन्तरपालिका यू–१८ फुटबल सम्पन्न गरेको क्लबले प्रतियोगिताबाट छनौट भएका अर्जुनधारा नगरपालिकाका खेलाडीहरुको लागि निःशुल्क फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यसैबीच, गत माघ ११ देखि १९ गतेसम्म सञ्चालन भएको झापा जिल्ला अन्तरपालिका यू–१८ नकआउट फुटबल प्रतियोगितामा क्लबले ५ लाखभन्दा बढी रकम बचत गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सार्वजनिक गरिएको प्रतिवेदनअनुसार१५ लाख ८२ हजार २३४ रुपैयाँ, आम्दानी हुँदा १० लाख ७७ हजार ९१० रुपैयाँ खर्च भएको छ भने बचत पाँच लाख चार हजार ३२४ रुपैयाँ रहेको छ ।
त्यसैगरी क्लबले फुटबल खेल र खेलाडीहरुको वृत्तिविकासका लागि स्थापना गरेको अक्षयकोषमा यस वर्षको बचतबाट एक लाख रुपैयाँ जम्मा गर्ने बताइएको छ । यसअघि उक्त कोषमा एक लाख ५५ हजार रुपैयाँ रहेको क्लबका सचिव हरि गुरुङले जानकारी दिए । सामाजिक समस्याको रुपमा देखिएको लागुऔषध न्यूनीकरण गर्न सम्बन्धित निकाय र सरोकारवालाहरुसँग हातेमालो गरी विभिन्न किसिमका कार्यक्रमको आयोजनासँगै त्यस किसिमको कार्यक्रममा सहभागी हुने क्लबको लक्ष्य रहेको छ ।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर धिमाल, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’, निर्माण व्यवसायी संघ झापाका पूर्व अध्यक्ष मिलन बस्नेतलगायतले आफ्नो धारणा राखेका थिए ।









































