बिर्तामोड
झापा कनकाई १ निवासी सामाजिक अभियान्ता दिपक ओलीले एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई करीब दुई महिनादेखि निःशुल्क खानाको व्यवस्थापन गराउंदै आएका छन् । युवा अभियान्ता ओलीले आफ्नो सेवामुलक कार्यलाई निरन्तरता दिँदै आएका हुन् । कनकाई नगरपालिका २ स्थित जामुनबारीमा रहेको सरस्वती माध्यमिक विद्यालयका माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तयारीमा रहेका २२ जना विद्यार्थीलाई ओलीले निःशुल्क खानाको व्यवस्था गरिदिएका हुन् ।
एसइइको तयारीमा रहेका विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारकालागि तथा विपन्न समुदायका विद्यार्थीको असहज परिस्थितिलाई मध्यनजर गर्दै ओलीले निःशुल्क खानाको व्यवस्था गरिदिएका हुन् ।

बिहान ६ बजे नै विद्यालय आउने र घर पुगेर आउँदा पढाइमा असर पर्ने देखेर ओलीले विद्यालयमै आफ्नो एकल सहित केहि साथीभाईको खर्चमा बिहानको खानाको व्यवस्था र दिउंसोको खाजाको ब्यवस्थापन गरेका हुन् ।
केही विद्यार्थीका अभिभावक दैनिक ज्याला मजदुरीमा जाने भएकाले पनि ओलीले विद्यार्थीको सहजताका लागि एक छाक खानाको सुरुवात गरेको जानकारी दिए । विद्यार्थीहरुलाई आगामी चैत १७ गते खाना खुवाउने ४५ दिने अभियान सम्पन्न हुने जनाइएको छ । चैत १९ गतेदेखि एसईई परिक्षा हुंदैछ ।
जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका सचिव , लायन्स क्लब अफ कनकाई दुर्गापुरका सचिव र पर्यटन मञ्च झापाका कार्यसमिति सदस्य समेत रहेका ओली यस अघि पनि सो विद्यालयका विद्यार्थीलाई ब्याग तथा न्यानो कपडा प्रदान गरिसकेको जानकारी दिए ।
बिपन्न समुदायका बिद्यार्थीहरु भोकभोकै बिद्यालय आउने गरेको देखेपछि उनीहरुको आगामी एसईई परिक्षालाई लक्षित गरी बिद्यालयमै खानाको व्यवस्था गरिएको उनको भनाई छ ।
बिद्यालयका प्रधानाध्यापक नारायाणप्रसाद अधिकारीले पनि सामाजिक अभियान्ता ओलीले गरिरहेको अभियानको प्रशंसा गरेका छन् । उनले शैक्षिक गुणस्तर संगै धेरै टाढा–टाढा बाट बिद्यालयमा आइरहेका बिद्यार्थीलाई सहज भएको बताए । उनले पहिलो पटक यस्तो किसिमको अभियान सञ्चालन भइरहेको भन्दै खुसी ब्यक्त गरेका छन् ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पशुपति आचार्यले यो ओलीले गरिरहेको यो अभियानले धेरै बिद्यार्थीलाई सहजता प्रदान गरेको बताए । टाढाबाट विद्यालयमा आइरहेका विद्यार्थीलाई यो अभियानबाट लाभ पुगेको बताए ।









































