बिर्तामोड ३ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समाजले बुधबार आज गुरु पूर्णिमाको अवसरमा गुरुहरुलाई सम्मान गरेको छ । विद्यालयको भूतपूर्व विद्यार्थी समाजले आज विद्यालय परिसरमा आयोजना गरेको एक भब्य समारोहकाबिच तीन जना पूर्व शिक्षक तथा तीन जना विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरेको हो । समाजले पूर्व शिक्षकरु कविन्द्र प्रसाई , बालकृष्ण प्रसाई र यामनाथ काफ्लेलाई सम्मान गरेको जनाएको छ ।
त्यस्तै विद्यालयका पूर्व ब्यवस्थापन समिति अध्यक्ष राजेश खड्का , सदस्यद्वय शम्भुप्रसाद पोखरेल र चन्द्रप्रसाद बजगाईलाई समेत सम्मान गरेको समाजका अध्यक्ष मदन गोपाल सुब्बाले जानकारी दिए । पूर्व अध्यक्ष खड्का र बजगाईको अनुपस्थितिमा उनीहरुका परिवारका सदस्य बिज्ञान खड्का र जीवन खड्काले सम्मान पत्र ग्रहण गरेको जनाइएको छ । उनीहरुलाई अभिनन्दनपत्र, खादा सहित बिभिन्न उपयोगि सामाग्री प्रदान गर्दै सम्मान गरिएको थियो ।
त्यस्तै अक्षयकोषदाता झइन्द्र घिमिरेलाई समेत सम्मान गरिएको थियो । उनले मात्र कोषकालागि २ लाख ५१ हजार रुपैंया प्रदान गरेको अक्षयकोष व्यवस्थापन तथा सन्चालन समितिका अध्यक्ष राजकुमार पोखरेलले जानकारी दिए ।

अक्षय कोषमा ६ लाख २५ हजार रुपैंया जम्मा भएको बताइएको छ । २०७९ सालबाट सुरु भएको गुरु सम्मान कार्यक्रम यो पाँचौ भएको समाजको संस्थापक सदस्य काजी बुढाथोकीले जानकारी दिए । समाजका अध्यक्ष मदनगोपाल सुब्बाको अध्यक्षता र विद्यालय ब्यवस्थापन समिति अध्यक्ष श्रीप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । समितिका सदस्य कमलराज बिमलीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्वागत समाजको उपाध्यक्ष रुपक गोदार थापाले गरेका थिए । कार्यक्रमको संचालन कक्षा १० की छात्रा केसीका आचार्य र कक्षा ११ का कमल कटवालले संयुक्तरुपमा गरेका थिए ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष राजकुमार पोखरेललगायत पूर्व विद्यार्थी एवम् पूर्व सम्मानित शिक्षकहरुको उपस्थिति रहेको थियो । २०१४ सालमा स्थापित महेन्द्र रत्न मावि अनारमनीको एसएलसी पहिलो ब्याज २०२७ सालमा रहेको थियो ।










































