झापाको बिर्तामोडका प्रतिभाशाली युवा वैज्ञानिक डा। मिशाल पोखरेल जर्मनीको प्रतिष्ठित अनुसन्धान संस्था बायोमेड एक्समा टिम एनआइबीअन्तर्गत पोस्टडोक्टोरल अनुसन्धानकर्ताको रूपमा आबद्ध भएका छन् ।
नेपालबाट सुरु भएको उनको वैज्ञानिक यात्रा भारत, बेलायत, अमेरिका हुँदै अहिले जर्मनीसम्म पुगेको छ । मानव शरीरसँग अझ प्रभावकारी रूपमा अन्तरक्रिया गर्न सक्ने जैविक सामग्री कसरी विकास गर्ने भन्ने जिज्ञासाले उनलाई निरन्तर अनुसन्धानतर्फ प्रेरित गर्दै आएको छ ।
उनले भारतमा स्नातक अध्ययनका क्रममा बायोमेटेरियल्स अनुसन्धानबाट यात्रा सुरु गरेका थिए । त्यसपछि बेलायतको सेफिल्ड विश्वविद्यालयमा स्नातकोत्तर अध्ययन गर्दै इन्जिनियरिङ गरेर स्काफोल्डहरूसँग स्टेम सेलहरूको अन्तरक्रियामाथि उनले अनुसन्धान गरेका थिए ।
नेपाल फर्किएपछि उनले अध्यापनका साथै स्थानीय स्रोत–साधनमा आधारित बायोमेडिकल अनुसन्धानको एउटा अनुसन्धान विभाग स्थापना गरेका थिए । त्यसपछि अमेरिकाको म्यासाचुसेट्स डार्टमाउथ विश्वविद्यालयमा पिएचडी तथा पोस्टडोक्टोरल अनुसन्धान गर्दै औषधि वितरण प्रणाली, पेप्टाइड–आधारित बायोमेटेरियल्स, पुनर्जन्म चिकित्सा तथा टिस्यु इन्जिनियरिङका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका थिए ।
बायोमेड एक्समा उनले बहुविषयगत अनुसन्धानलाई वास्तविक उपचार र बिरामीको हितमा रूपान्तरण गर्ने लक्ष्यका साथ आफ्नो नयाँ यात्रा सुरु गरेका छन् । पोखरेलका अनुसार जटिल जैविक प्रणालीलाई अझ यथार्थपरक रूपमा उपचारका नतिजाहरूलाई अधिक विश्वसनीय रूपमा पूर्वानुमान गर्न सक्ने अनुसन्धान नै भविष्यको स्वास्थ्य विज्ञानका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र हो ।










































