झापा : भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र सञ्चालकले ७५ लाख ५३ हजार ९ सय ४७ रुपैयाँ जुटाएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० झापाको पहलमा सङ्कलित उक्त रकम प्याब्सन केन्द्रीय समितिमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ।
प्याब्सन नेपालको आह्वानपछि झापामा आबद्ध १३९ विद्यालयमार्फत राहत रकम सङ्कलन गरिएको हो। विद्यालय सञ्चालकसँगै शिक्षक, विद्यार्थी र अभिभावकको सहभागितामा सङ्कलित रकम बिहीबार प्याब्सन झापाको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय समितिका प्रतिनिधिलाई हस्तान्तरण गरिएको हो।
प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले केन्द्रीय सल्लाहकार नारायणप्रसाद घिमिरे, निवर्तमान केन्द्रीय सल्लाहकार गोविन्द लम्साल, केन्द्रीय सदस्य श्रवण पोखरेल र कोशी प्रदेश उपाध्यक्ष इशुभ पाण्डेलाई रकम हस्तान्तरण गरे।










































