अर्जुनधारा :  झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ स्थित साधुटारमा भएको आगलागीबाट पीडित बनेका परिवारलाई नगरपालिकाको तर्फबाट तत्काल राहत उपलब्ध गराइएको छ । स्थानीय ७२ वर्षीय कोमल खनालको घरमा आज आगलागी हुँदा ७ वटा कोठा भएको २ तले घर पूर्णरुपमा क्षति भएको थियो ।

सोमबार बिहान करिब ८ बजेतिर विद्युत् सर्ट भइ आगलागी हुँदा कुनै मानवीय क्षति नभए पनि करिब ३० लाख ९४ हजार ५ सय रुपैयाँबरारबको क्षति भएको प्रहरीको प्रारम्भिक रिपोर्ट छ । आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्नपात सबै जलेको थियो । आगलागी स्थानीय तथा प्रहरीको सहयोगमा डेढ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देनल, वडा नम्बर १ का अध्यक्ष उपेन्द्र बस्नेत, वडा सदस्यहरुलगायतको टोलीले घटनाको तत्काल स्थलगत अनुगमन गरेको थियो । नगरपालिकाको तर्फबाट अग्निपीडित खनाल परिवारलाई आज साँझ राहत सामग्री उपलब्ध गराएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार ५ बन्डल जस्ता पाता, सिरक, डसना, झुल, सिरानी ३-३ थान, चामल ५० केजी, दाल ५ केजी, तेल ५ लिटर तत्कालका लागि उपलब्ध गराइएको छ । उक्त राहत सामग्री नगर प्रमुख गोम्देन, उपप्रमुख

खड्गमाया पराजुली, वडाध्यक्ष बस्नेतलगायत जनप्रतिनिधिसहित स्थानीय युवा, समाजसेवी तथा छिमेकीको उपस्थितिमा प्रदान गरिएको थियो ।