झापा : तत्कालीन शाही नेपाली सेनाद्वारा मारिएका पत्रकार देवकुमार आचार्यको स्मृतिमा स्थापित डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट झापाका तीनजना पत्रकार पुरस्कृत भएका छन् । झापाको बिर्तामोडमा बुधबार आयोजित समारोहका बीच
पत्रकारहरु जीएन शर्मा, राजु पाठक र लीलाराज झापालीलाई पुरस्कृत गरिएको हो । जनही पुरस्कारको राशि जनही २१ हजार रुपैयाँ छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सुरेन्द्र कार्की र विशेष अतिथि प्रदेश १ सरकारका कृषिमन्त्री झलकसिंह दर्लामीले उनीहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित पुरस्कार रकम प्रदान गरेका थिए ।
कोरोना भाइरसको संक्रमणका कारण अघिल्ला वर्षमा स्थगित भएको पुरस्कार वितरण समारोह यसपटक आयोजना गरी तीनजना पत्रकारलाई एकैपटक पुरस्कृत गरिएको प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मीले बताए ।
जनपक्षीय पत्रकार आचार्यलाई तत्कालीन शाही नेपाली सेनाले २०५९ साउन ७ गते पक्राउ गरी चारआलीस्थित सैनिक व्यारेकमा लगेर मारेको थियो । उनको स्मृतिमा प्रेस सेन्टरले पुरस्कार स्थापना गरी वर्सेनि वितरण गर्दै आएको सचिव उद्धव पुरीले जानकारी दिए ।
आचार्यको स्मृतिमा स्थापित यो पुरस्कारबाट यसअघि चन्द्र भण्डारी, लीला बराल, दीपिन राई, बिमल लामिछाने, केशव भट्टराई पुरस्कृत भइसकेका छन् ।