शनिश्चरे । अर्जुनधारा नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा रेविज रोगविरुद्ध खोप तथा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर आइतबारदेखि सुरु भएको छ । कोरोना कहरले स्थगित निःशूल्क बन्ध्याकरण शिविर पुनः सञ्चालन गरिएको हो ।
सामुदायिक कुकुरका कारण हुने रेविज रोगका कारण पशु धनको क्षतिमात्र नभएर मानवीय क्षति पनि हुने गरेको छ । जसको सुरक्षाका लागि पनि नगरपालिकामार्फत शिविर सञ्चालन गरिएको शाखा प्रमुख पदमलाल राईले बताए । पोखराको हिमालयन एनिमल रेस्क्यु ट्रस्ट ९हार्ट० नेपालसँगको सहकार्यमा सुरु गरिएको शिविर नगर उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरिन् ।
हार्ट नेपालका सञ्चालक खगेश्वर शर्मा भट्टराईको प्रमुख आतिथ्यमा आयोजित शिविरको उद्घाटन कार्यक्रममा आर्थिक समितिकी संयोजक तथा कार्यपालिका सदस्य गौरीमाया चिमरियाले स्वागत गरेकी थिइन् ।
प्रमुख अतिथि भट्टराईले कार्यक्रमको औचित्य र हार्ट नेपालको विषयबारे सहभागीहरुलाई जानकारी गराएको कार्यक्रममा कार्यपालिका सदस्यद्वय भूपेन्द्र न्यौपाने र सीताराम भट्टराईले मन्तव्य राखेका थिए ।
भदौ ३० गतेसम्म सञ्चालन हुने शिविरमा पशु चिकित्सकहरु सोनिया गुरुङ, सुदिपी पनेरु र हिमांशु पोखरेलको नेतृत्वमा कुकुरहरुको बन्ध्याकरण हुने हार्ट नेपालका सञ्चालक भट्टराईले जानकारी दिए । शाखाको कार्यक्रम तालिकामा आज अर्जुनधारा ६, ८ र ९, भोलि १० र ११, पर्सी अर्जुनधारा ४, ५ र ७ तथा ३० गते अर्जुनधारा १, २ र ३ नम्बर वडाहरुबाट सामुदायिक कुकुर संकलन गरी बन्ध्याकरण गरिने उल्लेख छ ।
यस पटक दुई सय वटा कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिएको शिविरमा कुकुरहरुलाई रेविज रोगविरुद्धको खोप पनि दिइनेछ । यसअघि तीनपटक शिविर सञ्चालन गरिँदा ६ सयभन्दा बढी कुकुरको बन्ध्याकरण गरिएको शाखाले जनाएको छ ।
शाखा प्रमुख राईका अनुसार यसै वर्षमात्र अर्जुनधारा ९ मा एक कृषकले पालेको गाई रेबिज रोगका कारण मरेको छ भने गतवर्ष अर्जुनधारा २ मा रेबिजकै कारण एक जना पुरुषको मृत्यु भएको थियो । उनका अनुसार यसपटक कम्तिमा ६० प्रतिशत छाउरी कुकुरको शिविरमा बन्ध्याकरण गरिने भएको छ ।
शिविर सञ्चालनपछि सामुदायिक कुकुरको बन्ध्याकरणले रेबिज रोगको नियन्त्रणसँगै धार्मिक पर्यटकीय नगर अर्जुनधारामा अनुकूल वातावरण बनाउन मद्दत मिल्ने शाखा प्रमुख राईको विश्वास छ ।