झापा–साहित्य चौतारी झापाले बाल दिवसको अवसरमा विभिन्न तीनवटा विधामा उत्कृष्ट भएका बाल प्रतिभालाई पुरस्कृत गरेको छ । बुधवार आयोजित मासिक साङ्गीतिक काव्यसभामा चौतारीले उत्कृष्ट भएका प्रतिभालाई नगदसहित पुरस्कृत गरेको हो । 

अघिल्लो मासिक काव्यसभाबाट साहित्य, संगीत र कलाका तीनवटा विधामा पाँच÷पाँच जनाका दरले बालप्रतिभा छानिएका थिए । बाल दिवसका अवसरमा चौतारीले उनीहरु बीच प्रतिस्पर्धा गराएको साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

‘प्रतिस्पर्धामा उत्कृष्ट भएका बालप्रतिभा पुरस्कृत भएका छन्’, संरक्षक श्रेष्ठले भने, ‘बालबालिकालाई हौसला प्रदान गर्नु र उनीहरुको प्रतिभालाई ठाउँ दिनु हाम्रो कर्तव्य हो ।

साहित्य चौतारीकी सचिव खगिन्द्रा खुशीका अनुसार कवितातर्फ रिया राजवंशी प्रथम भएकी छन् । गायनतर्फ दिया अधिकारी र नृत्यतर्फ श्रेया पौडेलले प्रथम स्थान ओगटेका छन् । उत्कृष्ट बालप्रतिभालाई संरक्षकद्वय देवीभक्त श्रेष्ठ र उर्मिला विमली, अध्यक्ष हस्त परियार लगायतले पुरस्कार प्रदान गरेका छन् ।

कार्यक्रममा नृत्य निर्देशक बालकुमार कटुवालको विशेष प्रस्तुति रह्यो । अभिनय र कलामा उत्तिकै सक्रिय कटुवाललाई साहित्य चौतारीले २०६३ सालमा कलाकारिता पुरस्कार प्रदान गरेको थियो ।

साहित्य चौतारीले उत्कृष्ट बाल प्रतिभा रियाज रिजालको प्रमुख आतिथ्य र बालगायिका अनुजा कडरियाको विशेष आतिथ्यमा  कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा इलामेली जेठो, एलसी श्रेष्ठ, समीप खरेल निर्णायकको भूमिकामा थिए । कार्यक्रममा जीवन जगदीश धितालले पनि आफ्नो गायन पस्किए । 

फत्तेमानमा समर्पित सांगीतिक काव्यसभा

साहित्य चौतारीले बुधवारको मासिक साङ्गीतिक काव्यसभा वरिष्ठ गायक तथा संगीतकार फत्तेमान राजभण्डारीमा समर्पित गरेको छ । गायन प्रतिभाका धनी फत्तेमानको नवौँ स्मृति दिवसलाई साहित्य चौतारीले उच्च महत्व दिँदै मासिक काव्यसभा उनैमा समर्पित गरेको हो ।

साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठका अनुसार फत्तेमान २०६२ मा आयोजित साहित्य चौतारीको छैटौँ वार्षिकोत्सव समारोहका प्रमुख अतिथि थिए ।

‘मासिक सांगीतिक काव्यसभामा फत्तेमानका सिर्जना प्रस्तुत भएका छन्’, संरक्षक श्रेष्ठले भने, ‘साहित्य चौतारीलाई उहाँले लगाएको गुन बिर्सि नसक्नुको छ ।’


संरक्षक श्रेष्ठलाई सर्जक स्रष्टाको शुभकामना

साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठलाई कार्यक्रममा सर्जक स्रष्टाले जन्मदिनको शुभकामना दिएका छन् । साहित्य, संगीत र कलाका पारखी श्रेष्ठले सर्जक र स्रष्टालाई सधैँ प्रोत्साहित गर्दै आएको जनाउँदै उनीहरुले उत्तरोत्तर प्रगति र दीर्घ जीवनको लागि शुभकामना दिए ।

श्रेष्ठले सर्जक स्रष्टासँगै बालप्रतिभाका बीचमा बसेर आफ्नो ६२ औँ जन्मदिन मनाएका हुन् । उनले आफ्नो जन्मदिन उपहाररहित ढंगले मनाएका छन् ।