झापा । झापाको झापा गाउँपालिका–३ रंगपुरका किसान चन्द्र बस्नेत एक लाख रुपैयाँ पुरस्कारबाट पुरस्कृत भएका छन् । इजरायलमा प्रशिक्षण लिएपछि झापामा चार वर्षदेखि व्यवसायिक केरा खेती गर्दै आएका बस्नेतलाई यसअघि नेपालस्थित इजरायली राजदूतावास र साना किसान विकास लघुवित्त वित्तीय संस्थाले संयुक्त कार्यक्रम गरी ‘युथ एग्री अवार्ड २०२२’ बाट सम्मान गरेका थिए । काठमाडौं आयोजित उक्त सम्मानपछि बस्नेतलाई झापाको टाघनडुब्बामा बिहिबार आज नगद एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
इलाका कार्यालयमार्फत बस्नेतलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको साना किसान विकास लघुवित्त वित्तीय संस्थाले जनाएको छ ।
साना किसान विकास वित्तीय संस्था मार्फत नै बस्नेतले इजरायलमा कृषि प्रशिक्षण प्राप्त गरेका थिए । एक वर्ष प्रशिक्षण लिएपछि उनले व्यवसायिक केरा खेती सुरु गरेका थिए ।