झापा : आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नं प्रदेशस्तरीय छनोट प्रतियोगिताको झाापामा खेलाइने खेलहरु जारी रहेको छ ।

बिहीबार झापाको दमकमा शुरु भएको महिला भलिबलका खेलहरु जारी रहेको छ भने शुक्रबार मेचीनगरमा महिला क्रिकेट प्रतियोगिता भएको झापा जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

काँकरभिट्टा माविको मैदानमा भएको महिला क्रिकेट प्रतिस्पर्धामा झापाको टिमले मोरङको टिमलाई ९ विकेटले पराजित गरेको छ । पहिलो व्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ५२ रन बनाएको थियो भने जवाफमा झापाले १ विकेट गुमाएर १० ओभरमा लक्ष्य पार गरेको कोच वीरु श्रेष्ठले जानकारी दिए ।

झापा जिल्ला खेलकुद विकास समितिका अत्तयक्ष भेषराज भण्डारीको अध्यक्षतामा आयोजित संक्षिप्त समारोहका बीच प्रतियोगिता उद्घाटन गरिएको थियो । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बलिङ र उपप्रमुख मीना पोखरेल उप्रेतीले व्याटिङ गरेर खेलको उद्घाटन गरेका थिए ।

समितिका सचिवालय सदस्य दुगौराज निरौलाले सञ्चालन गरेको उद्घाटन समारोहमा क्रिकेट खेलाडी छनोट समितिका संयोजक एवम् जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष शंकर थापाले स्वागत गरेका थिए । समारोहमा मेची भन्सार प्रमुख केशवराज ओली, पूर्व क्रिकेटरहरु लाक्पा लामा, प्रदीपराज पाण्डे, हितेन्द्रमान श्रेष्ठलगायतको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए ।

बिहीबार दमकमा समतिका अध्यक्ष भण्डारीकै अध्यक्षतामा १ नं प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रदेशस्तरीय महिला भलिबल छनोट प्रतियोगिताको उद्घाटन गरेका थिए ।

शनिबार विहान मेची रंगशालामा खो–खो र विर्तामोडको सिटी सेन्टरमा तेक्वान्दो खेलका प्रतिस्पर्धाहरु हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णु नेम्बाङले जानकारी दिए ।

प्रतिस्पर्धाका लागि जिल्लाबाहिरका टिम र खेलाडीहरु आइसकेको पनि उनले जानकारी दिए ।

बक्सिङ झापामै  

शुरुमा उदयपुरमा आयोजना गर्ने भनिएको बक्सिङ खेल झापामै हुने भएको छ । विविध कारणले उदयपुरमा हुन नसकेको प्रतियोगिता धरानमा गर्ने भनिए पनि अन्तिम समयमा झापामा गर्ने निर्णय भएको र झापाको दमकमा त्यसको तयारी गरिएको बक्सिङका प्रशिक्षक भोजराज सिटौलाले जानकारी दिए ।