अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरो जाँदा १२ जनाको मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए । कमलबजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको जानकारी आएको मरासिनीले बताए ।

त्यस्तै ढकारी गाँउपालीकामा १ घर पुरिएर तीन जना घाइते भएको र एक जना पुरिएको जानकारीपछि खोजी कार्य जारी रहेको उनले जानकारी दिए । तुर्माखाद गाँउपालीकामा पनि ९ जना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीले बताए ।

यता गृहमन्त्री बालकृष्ण खाणले बाढी र पहिरोमा परि घाइते भएकाहरु, प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।