महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको अन्तिम बयान जारी छ । शनिवार बिहान ९ बजेदेखि संसद सचिवालय सिंहदरबारमा महाभियोग सिफारिस समितिले जबरासंग बयानको लिखित प्रतिमा हस्ताक्षर लिइरहेको छ ।
समितिले तयार गरेका ४३ प्रश्नको जवाफ समेटेर समितिले जबराको बयान १७४ पेजमा समेटेकोमा शुक्रबार ६५ पेजसम्ममा जबराको हस्ताक्षर लिइएको थियो । आज बाँकी १ सय ९ पेज बयानको बाचन सुन्दै जबराले हस्ताक्षर गरिरहेका छन् ।
राणाले दिएको बयानको लिखत संसद सचिवालयका कर्मचारीले वाचन गरेर सुनाइरहेका छन् । बयानमा हस्ताक्षरपछि उनीमाथि थप पुरक प्रश्न गर्ने तयारी रहेको समितिले जनाएको छ । उनले दिएको जवाफ समेत समावेश गरेर आजै प्रतिवेदन तयार गरी सभामुख अग्नि सापकोटालाई बुझाउने तयारी छ ।
जबरामाथि लागेको अभियोगमाथि पूर्ण छानविन नहुँदै प्रतिनिधि सभाको कार्यकाल सकिन लागेकाले समितिले हालसम्म भएका विवरण समेटेर अपूर्ण प्रतिवेदन बुझाउने तयारी गरेको छ । एमालेले भने जबरामाथि लगाइएको महाअभियोगको पुष्टि हुने कागजात भदौं ३० गतेमात्रै मगाइएकाले त्यसको अध्ययन नगरी प्रतिवेदन संसद सचिवालयमा दर्ता गर्न नसकिने अडान लिएको छ ।