काठमाडौं । निर्वाचन आयोगले गत स्थानीय चुनावको खर्च विवरण पेस गर्न ढिलाइ गर्ने उम्मेदवारलाई तोकेको चर्को जरिवानालाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ ।

आज बसेको केन्द्रीय पदाधिकारी र संसदीय समितिको संयुक्त बैठकले उक्त जरिवाना अस्वभाविक, अव्यवहारिक र सामाजिक न्याय विपरित रहेको ठहर्‍याएको हो ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको वैठकले खर्च विवरण पेश गर्न दिइएको समयसीमा गुज्रिएको अवस्थामा आयोगले तोकेको जरीवानाप्रति विरोध जनाएको प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै, खर्चविवरणको बहानामा स्थानीय तहका उम्मेदवारलाई प्रदेश र संघीय चुनावमा रोक लगाउने आयोगको निर्णयप्रति पनि राप्रपाले आपत्ति प्रकट गरेको छ । यसप्रकारको निर्णय फिर्ता लिन, संसोधन गर्न वा व्यवहारिक बनाउने पार्टीले ध्यानाकर्षण गरेको छ ।

निर्वाचन आयोगले केही दिनअघि ढिला खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारहरुलाई डेढ लाखदेखि ७ लाख रुपैयाँसम्म जरीवाना तिराउने निर्णय गरेको थियो ।nepalpress.com