बिर्तामोड : बिर्तामोड २ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारीले यो बर्ष पनि सदस्यहरुलाई
सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
वर्षेनी सदस्यहरुलाई दिर्दै आएको सामाजिक सुरक्षा भत्ता बापतको रकम आज शनिबार बिर्तामोड सेवा केन्द्रले पनि एक कार्यक्रमकाबिच वितरण गरेको हो ।
बिर्तामोड नगरपालिका वडा नम्बर १ को सभाहलमा आयोजना गरेको शुभकामना आदानप्रादन तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाको उपप्रमुख नगेन्द्र सङ्ग्रौला रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि संग्रौलाले ज्येष्ठ, एकल तथा अशक्त सदस्यहरुलाई सम्मानसहित सामाजिक सुरक्षा भत्ता वितरण गरेको बिर्तामोड सेवा केन्द्र प्रमुख विवेक रिजालले बताए ।
सम्मानित सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान सहित नगद वितरण गरिएको सो कार्यक्रमको अध्यक्षता सहारा नेपाल साकोस बिर्तामोड सेवा केन्द्रका सञ्चालक सहयोग उप–समितिको संयोजक कृष्णबहादुर थापाले गरेका थिए ।
विभिन्न उमेर समूहका ज्येष्ठ सदस्यहरुलाई एकमुष्ठ रुपमा ६ हजारदेखि २५ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा सुविधा भत्ता वितरण गरिएको जनाइएको छ ।
एकल महिला तथा पुरुष दुबैले वार्षिक रुपमा सहारा नेपालबाट भत्ता पाउने गरेका छन् । महिला एकलले ८ हजार र पुरुषले ६ हजार रुपैयाँ पाउने गरेका छन् ।
संस्थाले १ हजार ५४ जना सदस्यलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत ९८ लाख ९० हजार रुपैयाँ वितरण गरेको संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार संस्थाले शनिवार (आज) एकै समयमा लक्ष्मीपुर, धुलावारी, बिर्तामोड, शनिश्चरे, चारपाने, सुरुङ्गा, शिवगञ्ज, चन्द्रगढी, दुधे र दमक सेवा केन्द्र मार्फत दशैको शुभकामना आदान–प्रदानसहित सामाजिक सुरक्षा भक्ता वितरण गरेको हो
सहारा नेपाल साकोस बिर्तामोड सेवा केन्द्रका सञ्चालक सहयोग उप–समिति सदस्य सोमलाल लिम्बुले स्वागत गरेको कार्यक्रमको औचित्य सहित संस्थाको गतिविधि तथा बचत सेवा बारे बिर्तामोड सेवा केन्द्रका प्रमुख विवेक रिजालले प्रकाश पारेका थिए ।
साकोसका सञ्चालक समिति कोषाध्यक्ष डम्बरबहादुर देउजाको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा साकोसका सञ्चालक समिति सदस्य पार्वता गिरी भारती, प्रमुख अतिथि संग्रौला लगायतले शुभकामना मनतब्य राखेका थिए ।
साकोस बिर्तामोड सेवा केन्द्रका सञ्चालक सहयोग उप–समिति सदस्य हिमा देवी प्रसाईले सञ्चालन गरेको कार्यक्रममा सम्मानित हरुको तर्फबाट एकल महिला सदस्य बिष्णु मैनालीले बोलेकी थिइन् ।