संजिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः यामकुमार चुंडाल  निर्वाचित भएका छन् ।  

संस्थाको  आज शनिबार बिर्तामोडमा भएको पन्ध्रौं बार्षिक  साधारण सभाबाट चुंडाल  पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।  

साधारणसभाबाट संस्थाको आगामी कार्यकालका लागि चुंडालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो ।

सर्वसम्मत अध्यक्षमा चुनिएका चुंडाल सहितको कार्य समितिको  कार्यकाल ४ बर्षको हुनेछ । उनी चौंथो कार्यकालकोलागि अध्यक्षमा चुनिएका हुन् ।  संस्थाको उपाध्यक्षमा दिनेशकुमार सुवेदी, सचिवमा मेघराज बांस्तोला, कोषाध्यक्षमा शिबबहादुर कटुवाल चयन भएका छन् । 

त्यस्तै, सदस्यमा शिबहादुर दाहाल, मोहनप्रसाद भट्टराई, सीतादेवी कार्की, अनिता गौतम, तारा कार्की  रहेका छन् ।  यस्तै, कमला शिवाकोटीको  संयोजकत्वमा धनपति मैनाली र मिलन काफ्ले  सदस्य रहेको लेखा सुपरिवेक्षण समिति समेत गठन गरिएको छ ।

निर्वाचित कार्य समिति तथा लेखा समितिलाई निर्वाचन अधिकृत डिल्ली दाहालले सपथ ग्रहण गराएका छन् ।

त्यस्तै संस्थाको अब बस्ने बैठकले सल्लाहकार, शिक्षा उप समिति , क्रृण उप समिति, स्वास्थ्य उप समिति गठन गरि नेतृत्व चयन गर्ने जनाइएको छ ।  

306321192_10221181772189676_1958497289839003433_n

 संस्थाका अध्यक्ष चुंडालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाको नगर प्रमुख पवित्रा महतरा प्रसाईको  प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका  उपाध्यक्ष दिनेशकुमार सुवेदीले स्वागत गरेका थिए । 

कार्यक्रममा अध्यक्ष चुंडालले  अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।   २ करोड ९४ लाख २२ हजार ५ सय शेयर पूंजी रहेको संस्थाको जगेडा कोष २ करोड ५८ लाख ३७ हजार ६ सय ९७ रुपैंया रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । 

संस्थाले असल बचत कर्ता तथा असल क्रृणि शुकबहादुर दाहाल खत्री र बलमाया मुखियालाई सम्मान गरेको थियो । 

त्यस्तै संस्थाले मृगौला पीडित शेयर सदस्य  जेलेल मियालाई २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो । संस्थाले यो आर्थिक बर्षमा ६१ लाख ९९ हजार ४ सय ३२ रुपैंया खुद नाफा गरेको पनि बार्षिक प्रतिवेदनमा उल्लेख छ । 

कार्यक्रमको सञ्चालन संस्थाका सचिव मेघराज बांस्तोलाले गरेका थिए ।