1. अर्जुनधारा । झापाको जुनतारा फुटबल क्लब तेस्रो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज आइतबारदेखि देखि सुरु भएको प्रदेश १ स्तरीय खुल्ला महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा जनता सेवेन फुटबल क्लब इलामलाई ५-० गोल अन्तरले पराजित गर्दै जुनतारा महिला फुटबल क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

    जुनताराकोलागि पहिलो गोल खेल सुरु भएको २१ औं मिनेटमा सम्झना राईले गरेकी थिइन । त्यस्तै ३२औं मिनेटमा गंगा माया राईले गरेको प्रहार गोलमा परिणत भएको थियो । जुनताराकको लागि तेस्रो गोल ५० औं  मिनेटमा ममता राउतले गरिन ।

    त्यसपछि खेलको ५२औं र ५५औं मिनेटमा अनिता लम्जेलले २ गोल गर्दै टिमलाई ५-० गोलको अन्तरमा विजयी बनाइन । २ गोलकर्ता आयोजक टिम जुनताराकी अनिता लम्जेल आजको खेलको उत्कृष्ट खेलाडी घोषित भइन ।


    अर्जुनधारा ३ स्थित प्रस्तावीत प्राकृतीक रंगशालामा भएको गोल्डकपको उदघाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङले गर्नु भएको थियो । खुदुनाबारी गोल्डकपलाई अर्जुनधारा ३ को च्यारिटी युथ क्लब (सीवाईसी)ले आयोजना गरेको हो । गोल्डकपको सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ ।

    गोल्डकपको दोस्रो खेलमा भोलि असोज १० गते पथरी शनिश्चरे महिला फुटबल क्लब मोरङ र रोयल कलब दमक झापाबिच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपौयाँ सहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ ।

    प्रतियोगितामा बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, हाइ स्कोरर र म्यान अफ दी टुर्नामेन्ट पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ । विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता संचालन भएको हो । यसअघि २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकपको पहिलो र दोस्रो संस्करण सम्पन्न भइसकेको छ ।