बिर्तामोड :  झापा बिर्तामोड–५ स्थित रामजानकी बचत तथा ऋण सहकारी संस्थाको १४औं साधारण सभा सम्पन्न भएको छ ।

गत असोज ११ गतेदेखि शुरु भएको इकाइगत साधारण सभा पछि आज बिर्तामोडमा अन्तिम माइन्यूट प्रमाणिकरण भेला गरी साधारण सभा सम्पन्न गरिएको हो । संस्थाका अध्यक्ष दलबहादुरको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघका सहसचिव कृष्ण मिश्रको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मिश्रले राज्यले सहकारी क्षेत्रलाई प्राथमिकता नदिए पनि सहकारी अभियान अझ सशक्त बन्दै गएको बताउनुभयो । “सरकारले प्राथमिकता नदिए पनि जनताको आवश्यकताको आधारमा सहकारीहरु अझ सशक्त बन्दै गएका छन्”, उहाँले भन्नुभयो । उहाँले सदस्यहरुलाई सहकारीमा बचत बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

संस्थाका अध्यक्ष कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्था क्रमशः मजबुद बन्दै गएको बताउनुभयो । बचत, शेयर, नाफा, ऋण लगानी लगायतका क्षेत्रमा सहकारीले फड्को मार्दै गएको उहाँले बताउनुभयो ।

संस्थामा आर्थिक वर्ष २०७८÷०७९ को असारमसान्तसम्म शेयरपुँजी २ करोड २ लाख ८८ हजार ४ सय, बचत संकलन १९ करोड ३७ लाख ११ हजार १९१, ऋण लगानी २० करोड ७६ लाख ६४ हजार १०७, कोषहरु १ करोड ९ लाख ५६ हजार ५२५ रहेको छ भने संस्थाले २७ लाख १३ हजार ६३५ ९करअघि० नाफा कमाएको छ ।

संस्थाका कोषाध्यक्ष जीवन सुवेदीले वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । उहाँले संस्थाले यस वर्ष जग्गा खरीद गर्ने, सदस्यता विस्तार गर्ने, यस वर्षदेखि विभन्न रेमिट्यान्स सेवा सञ्चालन गर्ने लगायतका नीति तथा कार्यक्रम अघि सारेको जानकारी दिनुभयो । 

यस्तै लेखा संयोजक ज्ञानेन्द्र प्रसाद पोखरेलले लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको अवस्थाका बारेमा सदस्यलाई जानकारी दिएका थिए ।  २९ जना शेयर सदस्यबाट शुरु भएको संस्थामा हाल ८ हजार ८९ जना शेयर सदस्य छन् भने सुरुङ्गा, हल्दिबारी, बिर्तामोड, कामाटोली, चकचकी, शनिश्चरे र चन्द्रगढी सेवा केन्द्रबाट सेवा दिँदै आएको संस्थाका व्यवस्थापक शुक्रराज भण्डारीले जानकारी दिनुभयो । संस्थामा हाल ६३ जना कर्मचारी छन् ।


कार्यक्रममा सुनकोशी साकोसका अध्यक्ष गंगाराम ओडारी, शिवशक्ति साकोसका अध्यक्ष युवराज ढकाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका उपाध्यक्ष भीमबहादुर थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव तथा व्यवस्थापक शुक्रराज भण्डारीले गर्नुभएको थियो ।