बिर्तामोड । दशैंमा तास खेल्ने क्रममा विवाद हुंदा आफ्नै साथीको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले आज सोमबार सार्वजनिक गरेको छ ।
तास खेल्ने क्रममा पैसा हारजितको बिषयलाई लिएर बिर्तामोड स्थित नयाँ बसपार्कमा केहि साता अघि एक युवकको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।
फुलपातीका दिन सँगै तास खेलेका ताप्लेजुङ सिदिम्बा –४ सुरुमखिम घर भई बिर्तामोड नयाँ बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका २५ वर्षीय नविन्द्र गुरुङको हत्या गरेको आरोपमा इलाम नगरपालिका वडा नं ९ स्थायी घर भई अर्जुनधारा न.पा वडा नं ११ स्थित ताप्लेजङ इलाम
होटलका सचालक ३८वर्षिय इन्द्रबहादुर अधिकारी, सोही होटलका स्टाफ २१ वर्षिय अमृत आचार्य र पाँचथर फालेलुङ ७ स्थायी घर भई होटलका स्टाफ आचार्यकी श्रीमती २३ वर्षिया बिमला राई लाई प्रहरीले पक्राउ गरेको हो ।
घटनामा संलग्न थप एक जना फरार रहेको झापा प्रहरी प्रमुख विश्वमणी पोखरेलले बताए । उनका अनुसार उनीहरुले घटनास्थलबाट १५० मिटर पूर्व भागमा लगेर शव लुकाउने प्रयास गरेका थिए ।
तास खेल्दै गरेको अबस्थामा पैसा हारजितको बिषयलाई लिएर विवाद हुंदा होटल संचालक अधिकारी, होटलका स्टाफ आचार्य र अर्का फरार एक जना मानिसले गुरुङलाई मसला पिस्न प्रयोग हुने ढुङगाको लोहोरो र चक्कु प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि कर्तब्य ज्यानको मुद्धा दायर गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।










































