मंसिर ४ गतेकालागि  तोकिएको  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका झापाका १५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आज बुधबार उनीहरुले नाम फिर्ता लिएका हुन् । 

प्रतिनिधिसभाका ७ र प्रदेशसभाका ८ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । 

झापा क्षेत्र नं १ बाट राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने सन्तराज कार्की , १ को प्रदेश ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिने गीताप्रसाद अधिकारी , राजन चिमरिया , क्षेत्र नं २ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने कमलप्रसाद खरेल , स्वतन्त्र

उम्मेदवारी दिने अर्पण बस्नेत , क्षेत्र नं ४ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने विजयप्रसाद राजवंशी , स्वतन्त्र उम्मेदवारी दिने खेम नेपाल , ४ को प्रदेश ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिने भरत श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन् ।  त्यस्तै क्षेत्र नं ५ मा प्रतिनिधिसभा निर्वाचनतर्फ २ जना तथा ५ को ‘क’ मा एकजना र ‘ख’ मा ४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

क्षेत्र नं ५ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिने सुलोचना राजवंशी , विष्णुप्रसाद सिग्देल , प्रदेशतर्फ ५ को ‘क’मा स्वतन्त्र उम्मेदवारी दिने इन्द्रबहादुर न्यौपाने , ५ को ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिने वेदनिधि गौतम , दिपेन्द्र तिवारी , राजन चापागाई र राप्रपा नेपालका उम्मेदवार वासुदेव भट्टराईले उम्मेदवारी फिर्ता लिएका हुन् । 

झापामा २०७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । प्रतिनिधिसभा निर्वाचनका लागि १०१ र प्रदेशसभा निर्वाचनका लागि १०६ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।