बिर्तामोड : झापाको बिर्तामोड नगरपालिका ७ स्थित देवनीयाधामकी दीया भट्टराईले आफ्नो जन्मोत्सबको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेकी छन् ।
आज शनिबार उनले आफ्नो निवास देवनीयाधाममा स्थानीय २७ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्दै आफ्नो १४ औं जन्मदिन मनाएकी हुन् ।
चार बर्षको उमेरदेखि अमेरिका बस्दै आएकी उनले आफ्नो जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटौती गर्दै समाजमा उदाहरणीय कार्य गर्ने सोच बनाएर बृद्धहरुलाई सम्मान गरेको दीयाका ठूलोबुबा भरत भट्टराईले बताए ।
उनले नागरिकलाई दोसल्ला, मालाले सम्मान गर्दै खाना खुवाएर जन्मोत्सव मनाएको भरतले बताए ।
जेष्ठ नागरिक ९५ बर्षिय रबिलाल निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा भट्टराई कुलबंश प्रतिष्ठान झापा अध्यक्ष धमेन्द्र भट्टराई (मामा), राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल (बराल), प्याब्सनका केन्द्रिय उपाध्यक्ष नारायणप्रसाद घिमिरेलगायतले शुभकामना दिएका थिए ।
दीयाका आमाबुबा मदन र राधिका भट्टराईले सानै उमेरदेखि अमेरिकामा बसेपनि सामाजिक कार्यप्रतिको मोह रहेको भन्दै खुसी ब्यक्त गरे । कार्यक्रमको सञ्चालन नवराज भट्टराईले गरेका थिए ।