झापा : नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले गठबन्धन दलका साझा उम्मेद्वारहरुलाई विजयी गराउन जिल्लास्तरमा अनुगमन तथा मूल्याङ्कन समिति र प्रचारप्रसार समिति गठन गरेको छ ।

राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको संयोजकत्वमा जिल्ला अनुगमन तथा मूल्याङ्कन समिति गठन भएको छ भने कार्यबाहक सभापति केशवराज पाण्डेको संयोजकत्वमा जिल्लास्तरीय निर्वाचन प्रचार–प्रसार समिति गठन भएको छ ।

अनुगमन समितिले जिल्लाका विभिन्न स्थानमा पार्टी कार्यकर्ताहरुले गरेको चुनावी गतिविधिको अनुगमन एवं मूल्याङ्कन गर्नेछ  भने प्रचार–प्रसार समितिले क्षेत्र, प्रदेशसभा क्षेत्र र वडास्तरमा गठित प्रचार समितिसँगको समन्वयमा प्रचार–प्रसारको भूमिका निर्वाह गर्नेछ ।

त्यसैगरी बैठकले पार्टीका सबै जिम्मेवार पदाधिकारी,  सदस्य, क्षेत्रीय प्रतिनिधि,  क्रियाशिल सदस्य र भातृ संस्थाका पदाधिकारी÷सदस्यलाई आ–आफ्नो मतदाता नामावली रहेकै स्थानमा चुनाव प्रचारमा सक्रियतापूर्वक खट्न पनि निर्देशन गरेको छ । बैठक कार्यबाहक सभापति पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो ।