बिर्तामोड : झापाको बिर्तामोड नगरपालिकाले नगर सभाबाट पारित नीति, बजेट तथा कार्यक्रम समेटिएको नगर विकास योजना पुस्तिका सार्वजनिक गरेको छ ।

बिर्तामोड नगरपालिको कार्यालयमा आज सोमबार पत्रकार सम्मेलन मार्फत नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र सङ्ग्रौला र प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेले संयुक्त रुपमा पुस्तिका सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा वडाध्यक्षहरु र कार्यपालिका सदस्यको सहभागिता रहेको थियो । 

बिर्तामोड नगरले आगामी आ.ब. ०७९÷०८० को लागि कुल आयव्ययको १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० (सामाजिक सुरक्षाको बजेट समेत) बजेट प्रस्ताव गरेको छ । उक्त बजेट मध्ये आयतर्फ संघीय समानीकरण अनुदानबाट २३ करोड ६० लाख, संघीय सरकार राजश्व बाडफाँडबाट १३ करोड ४३ लाख ९८ हजार, प्रदेश समानीकरण अनुदानबाट १ करोड ३३ लाख ७२ हजार, प्रदेश

राजश्व बाँडफाँड बाट १ करोड १७ लाख ११ हजार ४ सय ९०, त्यसैगरि नगरको आन्तरिक आयबाट  १५ करोड र मालपोत रजिष्ट्रेशन शुल्कबाट ११ करोड गरी जम्मा ६५ करोड ५४ लाख ८१ हजार ४ सय ९० रुपैयाँ प्राप्त हुने आज सार्वजनिक भएको बिकास योजना पुस्तिकामा उल्लेख छ । 

नगर प्रमुख प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख संग्रौलाले स्वागत तथा कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन नगरका योजना बिभाग अधिकृत जय तिम्सिनाले गरेका थिए ।