भद्रपुर : झापाको सदरमुकाम भद्रपुरमा जन्मिएर लामो समय भद्रपुरमै बिताई हाल विराटनगरमा बसोबास गर्दै आएको समाजसेवी गोयल परिवारले भद्रपुरका ११ जना छात्रालाई अध्ययनमा सहजताका लागि साइकलसहित शैषिक सामग्री प्रदान गरेको छ ।

समाजसेवी दीनबन्धु गोयलको आयोजना र भद्रपुर मारवाडी संघको सहआयोजनामा संघकै सभाहलमा आज आयोजित एक संक्षिप्त समाारेहका बीच साइकल, शैक्षिक पोशाक र छात्रबृत्ति प्रदान गरिएको हो ।

संघका अध्यक्ष अजय साहेवालाको अध्यक्षतामा आयोजित समारोहका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, ५ नं वडाध्यक्ष बन्धु कार्कि, ६ नं वडाध्यक्ष रतिया राजवंशी, ७ नं वडाध्यक्ष अभिषेक ढुंगाना, नेपाल उद्योग वाणिज्य महासंघ

प्रदेश नं १ अध्यक्ष टिकाराज ढकाल, सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरकी अध्यक्ष शीला खड्कालगायतले छात्राहरुलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

पढाइमा जेहेन्दार तर आर्थिक रुपमा कमजोर छात्राहरु छनोट गरी ती सामग्री वितरण गरिएको कार्यक्रमका संयोजक राजु दाहालले जानकारी दिनुभयो ।

सामग्री पाउनेमा वीरेन्द्र नमूना क्याम्पसमा उच्च तह अध्ययनरत रोशनी मुर्मु, गहा मुर्मु, आशा खेरवार, मोती मालपाडे, र जोसफिना खडिया, वीरेन्द्र माविका माध्यमिक तह अध्ययनरत वविता राजवंशी, फूलमुनि मर्डी, प्रितम उराउ, सिर्जना सदर, करुणा ऋषिदेव र भद्रपुर माविकी सरिता कर्माकार रहेका छन् ।

दाता परिवारका अनुसार छात्रबृत्तिसहित एकजनालाई ३१ हजार रुपैयाँबराबरको सहयोग गरिएको छ ।

साइकलसहित शैक्षिक सामग्री पाएपछि छात्राहरुले खुशी प्रकट गर्दै यसले आफ्नो पढाइमा ठूलो सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् भने प्रमुख अतिथि नगरप्रमुख पोखरेलले आर्थिक अभावकै कारण भद्रपुरका विद्यार्थीले पढाइबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिइने बताउनु भयो ।  कार्यक्रमको सञ्चालन सञ्चारकर्मी गोपाल गिरीले गर्नुभएको थियो ।