झापा : झापाको सीमावर्ती नाकाबाट भित्र्याइएका प्रतिबन्धित बारुदजन्य पटाका झापा प्रहरीले बरामद गरेको छ । तिहार तथा छठ पर्वलाई लक्षित गरेर अवैध रुपमा सीमा नाका बाट करीब १५ लाख मुल्य बराबरको नेपाल भित्रिएका पटाका प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको पटकाको बारेमा आइतबार प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । बरामद गरिएका पटका प्रहरीले खाल्डो खनेर पुरेको छ ।
प्रहरीको सक्रियता संगै चेकजांचमा गरिएको कडाइका कारण सीमा नाकाबाट पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख विश्वमणि पोखरेलले जानकारी दिए ।
नेपाल–भारतबीचको खुल्ला सीमाका कारण पनि पटाका भित्र्याउन सहज भएको उनले बताए । तिहारको समयमा पटाकाको प्रयोगले अवाञ्छित गतिविधिसमेत हुनसक्ने भन्दै पटाकाजन्य पदार्थको प्रयोग नगर्नसमेत जिल्ला प्रहरी कार्यालय झापाले आग्रह गरेको छ ।
कार्यक्रममा प्रहरी प्रमुख पोखरेलले सम्पादन भएका मुख्य कार्यहरुको प्रगति बिवरणसमेत प्रस्तुत गरेका थिए ।