झापा  : नेपाल हिन्दू राष्ट्र पुर्नस्थापना मञ्चले नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्ने माग अघि सारेको  छ ।  मञ्चले आइतवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै सहि तरिकाले हिन्दू राष्ट्र नदिए आन्दोलनसमेत गर्ने चेतावनी दिएको छ ।

मञ्चका संस्थापक तथा केन्द्रिय अध्यक्ष डा. बिष्णुप्रसाद बरालले नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्ने माग राख्दै विश्वका राष्ट्रपति, प्रधानमन्त्री र विशिष्ठ नेताहरुलाई पत्राचार समेत गरेको बताएका छन् ।

हिन्दू राष्ट्र चाहनेलाई आफुहरु  समर्थन गर्ने पनि उनले जनाएका छन् ।  हिन्दू राष्ट्रमा सवै जातजाती अटाउन सकिने र भाइचारा हुने भएकाले पनि नेपाललाई हिन्दू राष्ट्र बनाउन आफुहरुले  माग अघि सारेको  उनले बताए ।  

हिन्दूलाई अन्यले अपशब्द प्रयोग गर्ने गरेको प्रति उनले दुःख ब्यक्त गरेका छन् ।  गरिब देश भएर पनि कसैको गुलाम नभएको नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्नेमा बरालले जोड दिए । 

कार्यक्रमको सञ्चालन नेपाल हिन्दू राष्ट्र पुर्नस्थापना मञ्च नेपालका युवा संगठनका अध्यक्ष अभय राजवंशीले गरेका थिए । 

कार्यक्रममा अलकोच राजवंशी स्टुडेन्ट युनियनका चिफ एड्भाइजर प्रणवज्योती राजबंशीको पनि उपस्थिति रहेको थियो ।