नेपाल आदिबासी जनजाती महासंघ झापाले जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवारसँग अन्तरक्रिया गर्ने जनाएको छ ।
महासंघले आदिबासी जनजातीको हक तथा अधिकारका बिषयमा उम्मेदवारको प्राथमिकता तथा एजेण्डाका बिषयमा उनीहरुसंग अन्तरक्रिया गर्ने जनाएको छ ।
महासंघले मंगलबार (आज) बिर्तामोडमा पत्रकार भेटघाट मार्फत सो कुरा जानकारी दिएको हो । आदिबासी तथा जनजातीका धर्मसंस्कृति, भाषा, भेषभूषा, पहिचान हराउंदै गएकाले त्यसको उत्थानका लागि उम्मेद्वारसँग अन्तरक्रिया गर्ने महासंघले जनाएको छ ।
महासंघले प्रत्येक ५ वटै निर्वाचन क्षेत्रमा कार्यक्रम संयोजक तोकेर कार्तिक १७ देखि २३ गतेसम्म संविधानले आदिबासी तथा जनजातीलाई दिएको अधिकार कार्यन्वयनका लागि अन्तरक्रिया गर्न लागेको बताइएको छ ।
आदिबासी जनजातीका नेताहरु संघ र प्रदेशमा पुगे पनि आफ्ना अधिकारका बिषयमा आवज उठाउन नसकेको आरोप लगाउँदै उनीहरुले भोट बैंकको रुपमा आफुहरुलाई प्रयोग गरेको बताएका छन् ।
महासंघका अध्यक्ष पाण्डपलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता टेकबहादुर खजुम, फोनज झापा अध्यक्ष भुमिका सुब्बा, सिर्जलाल चौधरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिब लक्ष्मण श्रेष्ठले गरेका थिए ।