प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन १०–१५ वर्षसम्म रहनुपर्ने बताएका छन् । आज आफ्नो निर्वाचन क्षेत्र डडेलधुराको अमरगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले समृद्धि र आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले गठबन्धनको निरन्तरता पाउनुपर्ने बताएका हुन् ।
राजनैतिक पद्धति र विकासलाई संस्थागत रुपमा विकास गर्न पनि गठबन्धन आवश्यक भएको उनको भनाइ छ । देउवाले सीमा समस्या दुई देशबीचको मित्रवत व्यवहारले मात्र समाधान हुन सक्ने पनि बताए ।
राजनैतिक नाफा, घाटाका लागि अनावश्यक रुपमा सीमाजस्तो संवेदनशील विषयलाई मुद्दा बनाउन नहुने उनको भनाइ छ । देउवाले सुदूरपश्चिमको पर्यटन विकासका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता पनि मतदाता समक्ष जनाए । सातौं पटक प्रतिनिधिसभाको उम्मदेवारी दिएपछि देउवा पहिलो पटक डडेलधुरा पुगेका हुन् ।
देउवा थप तीन डडेलधुरामा बसेर विभिन्न पालिकामा आयोजना हुने चुनावी कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।