सन्तोष न्यौपाने÷झापा
नेकपा एमालेको तर्फबाट झापा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा उम्मेद्वार रहेका एलपी साँवाले चुनावी घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।
उनले आफ्नो क्षेत्रका नागरिकको समस्या र गुनासोलाई सम्बोधन गर्दै चुनावी अभियानलाई तिब्रता दिएका हुन् । उनी २०७४ सालको निर्वाचनमा पनि यस क्षेत्रबाट प्रतिनिधिसभाकालागि निर्वाचित सांसद हुन । उनले अघिल्लो कार्यकालमा गरेका कामले पनि यस पटक उनलाई चुनाव जित्न सहज हुने आंकलन गरिंदै आएको छ ।
उनले एमालेको सरकारले ल्याएको नीति अनुसार देशभरका स्थानीय निकाय मार्फत सुकुम्बासीलाई नयाँ घर निर्माण गर्दै सुकुम्बासीको व्यवस्थापन गरिदै लगिएको र अब त्यसलाई निरन्तरता दिइने बताएका छन् ।
उनले आफ्नो क्षेत्रका प्रमुख समस्याहरुमा जानकार रहेको बताउंदै मतदाता को घरदैलोमा हिंडिरहेका छन् ।
४ नम्बर क्षेत्रको प्रमुख समस्या नदि कटानबाट पीडित बनेको नागरिकलाई सुरक्षित गर्नु आफ्नो पहिलो दायित्व र कर्तब्य रहेको उनले बताए ।
कनकाई माई, कमल, कमल बनियानी, दुधे खोला, सतासी खोला लगायत साना तथा ठुला खोलाहरुले स्थानीय नागरिकलाई दुःख दिइरहेको बताउंदै उनले नेकपा एमालेले सुरु गरेको कनकाई माईको पश्चिम किनारमा बर्सेनी तटबन्धनको काम भईरहेको र त्यसले
केहि हद सम्म कटान नियन्त्रणमा टेवा पुग्दै आएको बताए । उनले नदी नियन्त्रणमा पनि अघिल्लो आफ्नो ५ बर्षे कार्यकालमा धेरै बजेट निकासा गरेका थिए ।
साथै उनले आफ्नो अधुरो योजनाहरुलाई पुरा गर्ने र सम्पूर्ण विपन्न , अशक्त, मुस्लिम, आदिवासी जनजाति लगायतका हक
अधिकारकालागि लड्ने र उनीहरुको पहिचान बनाउनकालागि आफु दिन रात लागि पर्ने बताए । उनले ४ नम्बर क्षेत्रको विकासकालागि आफुलाई मतदान गर्न मतदातालाई आग्रह समेत गरेका छन् ।