बिर्तामोड : बढ्दो व्याजदरका कारण व्यवसायिक क्षेत्र पीडित र प्रभावित बनेको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । 

बैँकले अचानक व्याजदर बढाएपछि व्यवसायीहरु झनै ठुलो मारमा परेको संघले बताएको हो ।  आज सोमबार कार्यालयमा पत्रकार भेटघाट मार्फत कोभिडका कारण थला परेका व्यवसायीलाई बैंकले झनै ठुलो पीडा दिएको संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए । 

संकटमा परेका  व्यवसायी पलायनको अवस्थामा पुगेका उनले जानकारी दिए ।  बैँक तथा वित्तिय संस्थाको व्याजदर अनियन्त्रित बन्दै गएको प्रति संघले आपत्ति प्रकट गर्दै व्यवसायिक क्षेत्र पीडित र प्रभावित हुँदा पनि सरकार मौन बसेको संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले गुनासो गरे । 

बैँक तथा वित्तिय संस्थाले ८–९ प्रतिशतमा गरेको कर्जा प्रवाहको व्याजदर बढाएर १५ प्रतिशतसम्म कायम गरेका छन् ।

सहकारी संस्थाले भने सरकारले तोकिदिए अनुसार १६ प्रतिशत व्याज लिँदै आएका छन् ।  ऋणको व्ययभार बढ्दै गएका कारण व्यापार क्षेत्रमा ठुलो संकट पैदा भएकाले व्यवसायी पलायन हुनुपर्ने अवस्थामा पुगेको संघका महासचिव अर्जुन मैनालीले बताए । 

संघका अध्यक्ष प्रकाश शिवाकोटीले  बैँक तथा वित्तिय संस्थालाई पुरानै अवस्थाको व्याजदर कायम गर्न सार्वजनिक रुपमा अपिल गरिएको बताए । 

साथै उनले व्याजदर वृद्धिको विरोध गर्दै  आन्दोलनको घोषणा पनि गरेको छ । बढाइएको व्याजदर फिर्ता लिन बैँक तथा वित्तिय संस्थालाई दवाव दिँदै संघले चार दिनका लागि आन्दोलनका कार्यक्रम तय गरेको जनाएको छ ।  कात्तिक २२ देखि संघ आन्दोलनमा जाने महासचिव अर्जुनकुमार मैनालीले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले राष्ट्र बैंकको गलत नीतिका कारण उद्योगी व्यवसायी आत्महत्या गर्ने अवस्थामा पुगेको बताए । उनले आन्दोलनलाई निष्कर्षमा पुर्याएरै छोड्ने बताएका छन् ।

नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बैँक तथा वित्तीय संस्थाको ज्यादतीविरुद्ध संगठित रुपमा आन्दोलित हुनुको विकल्प नभएको बताए ।

सङ्घको आन्दोलनप्रति नेपाल निर्माण व्यवसायी महासंघ, सुनचाँदी व्यवसायी माहासंघ, फलफूल तथा तरकारी व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, औषधि व्यवसायी महासंघ, मदिरा व्यवसायी संघ लगायतका संस्थाले ऐक्यवद्धता जनाएका छन् ।

महासंघको घोषित कार्यक्रम अनुसार मंगलवार व्यवसायीले जिल्ला प्रशासन कार्यालय झापा घेराउ गर्नेछन् । प्रशासनमा धर्ना दिने र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने तयारी गरिएको संघले जनाएको छ ।