झापा : मंसिर ४ गते हुने प्रतिनिधिसभामा झापा क्षेत्र नं.–२ बाट स्वतन्त्र उम्मेद्वार रहेका कुमार भट्टराईले २ नम्बर क्षेत्रको जनताको मन र मत दुबै जित्ने बताएका छन् ।
भट्टराईले चुनावी प्रचार अभियानलाई तीब्र बनाउंदै लगेको बताउंदै सामाजिक , व्यवसायीक र राजनीतिक क्षेत्रमा रहंदा गरेको कामले आफुलाई जनताले पत्याउने बताए ।
आज सोमबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी उनले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।
उम्मेद्वार भट्टराईले आफू कुनै पनि दलको नभएको र सबै दल , संघ संस्था तथा व्यक्तिहरुसंग राम्रै सम्बन्ध भएका कारण निर्वाचन मत परिणाम आफ्नो पक्षमा हुनेमा आफु ढुक्क रहेको बताए ।
गठबन्धनका नाममा कांग्रेसले माओवादलिाई उम्मेदवार बनाएपछि असन्तुष्ट भएका भट्टराई स्वतन्त्ररुपले चुनावी मैदानमा छन् । उनको चुनाव चिन्ह पानी तान्ने ट्युवेल छ ।
गठबन्धनका तर्फबाट हरिकमुार राना र एमालेका तर्फबाट देवराज घिमिरेसँग उनी आमनेसामने हुन लागेका हुन् । त्यस्तै स्वतन्त्र उमेद्वारका रुपमा स्वागत नेपाल र सन्तोष घिमिरे पनि चुनावी अभियानमा छन् ।
भ्रष्टाचार गर्दिन’ भन्ने नारासहित आफूले चुनावी अभियान चलाइरहेको बताए । पद र शक्तिको दुरुपयोग नगर्ने उनको पहिलो प्रतिवद्धता छ ।
क्षेत्र नम्वर–२ का जनताको अमूल्य मत आफूलाई प्राप्त हुने विश्वास पनि लिएका छन् । भट्टराई समाजिक सेवा र व्यवसायिक क्षेत्रमा लामो समय सक्रिय ब्यक्ति हुन् ।
विधिको शासन भन्दा बाहिर गएर कुनै पनि निकाय र कर्मचारीलाई दबाब नदिने बताउँदै भट्टराईले महत्वपूर्ण मुद्दामा संवाद र छलफल गरी स्पष्ट दृष्टिकोण राख्ने बताए ।
उनले भने, ‘कुनै पनि मुद्दामा दोहोरो चरित्र प्रदर्शन गर्दिन । सरकारलाई पारदर्शी र जनताप्रति उत्तरदायी बनाउन सधैँ खबरदारी गर्छु । मतदाताको बलियो विश्वासको जगमा उभिएर भन्छु, राष्ट्र र राष्ट्रियताप्रति मेरो इमानदारिता सधैँ जाँच होस् । ’
त्यस्तै उनले २५ हजारभन्दा बढी मत प्राप्त गर्ने दावी समेत गरेका छन् ।