नेत्रहीन युवा संघ नेपाल झापाले अपांगता भएका व्यक्तिहरूले सहज वातावरणमा मतदान गर्न पाउनु पर्ने माग राखेको छ ।
आज सोमबार बिर्तामोडमा पत्रकार भेटघाट मार्फत संघका अध्यक्ष दिलकुमार राजवंशीले अपाङ्गता मैत्री मतदानस्थलमा हुने विभिन्न प्राविधिक पक्ष सहित मतदान गर्न आउने व्यक्तिको सहजताका लागि यातायातको व्यवस्था हुनु पर्ने माग गरेका हुन् ।
निर्वाचनस्थललाई अपाङ्गता मैत्री बनाउनु पर्ने कुरामा जोड दिंदै आएको भए पनि निर्वाचन आयोगले ध्यान दिन नसकेको बताए ।
संघको देशव्यापी कार्यक्रम अनुसार झापामा पनि अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त मतदानको वातावरण बनाउने कुरामा सरोकारवाला निकायको ध्यानकार्षण गर्ने उद्देश्यले ज्ञापन समेत निर्वाचन आयोगलाई बुझाइएको जनाइएको छ ।
अपाङ्गता भएका घरधुरीको सर्वेक्षणका क्रममा ४० प्रतिशत व्यक्तिहरूलाई यातायातको असुविधा रहेको , ३५ प्रतिशतलले इच्छाएको व्यक्ति लिएर जान नपाउँदा समस्या भएको र २५ प्रतिशतलाई भौतिक संरचनाले मतदान गर्न बाधा व्यवधान भएको पाइएको थियो । त्यस पश्चात संघले सहज मताधिकार सुनिश्चित गर्न माग अघि सारेको हो ।
नेपालको संविधान २०७२, अपाङ्गता भएका व्यक्तीहरूको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा ११ तथा अपाङ्गता भएका व्यक्तीहरूको अधिकारसम्बन्धी अन्तराष्ट्रिय महासन्धी युएनसीआरपीडि को धारा २९ ले अन्य व्यक्तिसरह अपाङ्गता भएका व्यक्तीहरूले पनि राजनीतिमा सहभागीता हुन पाउने हक सुनिश्चित गरेको छ ।
निर्वाचनका दिन अपाङ्गता भएका व्यक्तीहरूको सहज आवागमनका लागि यातायातको प्रबन्ध गरिदिने, मतदानस्थललाई उपयुक्त अनुकुलता हुने गरी यथासम्भव पहुँचयुक्त बनाउने, सहयोगीको प्रबन्ध गरिदिने, बहिरा व्यक्तीहरूसँग साङ्केतिक भाषामा सञ्चार गर्न सक्ने वातावरण सिर्जना गर्ने र अपाङ्गता भएका व्यक्तीहरूप्रति अपाङ्गतामैत्री व्यवहार गर्ने लगायतका पक्षहरूमा विशेष ध्यान दिन अनुरोध गरिएको छ ।
मतगणनास्थलमा सांकेतिक भाषाका दोभाषेहरुको व्यवस्था गर्नुपर्ने, निर्वाचन आयोग र निर्वाचन कार्यालयका वेबसाइटहरु पहुँचयुक्त बनाइनु पर्ने, निर्वाचनमा सहभागि अपाङ्गता भएका मतदाताको लगत राख्ने व्यवस्था मिलाइनुपर्ने माग अघि सारेको छ ।
पत्रकार भेटघाटमा संघकी फिल्ड अधिकृत मुना भट्टराई, कोषाध्यक्ष होमनाथ राजवंशी लगायतको उपस्थिति रहेको थियो ।