कनकाई नगरपालिका ३ निवासी पदमप्रसाद प्रसाईले वडा नम्बर ३ मा रहेको आफ्नो व्यापारिक भवन नगरपालिकाले नियम विपरीत डोजर लगाएर भत्काएको बताएका छन् ।
नगरपालिकाले बाटोको डिपिआर एवं घर–जग्गाको नक्सा पास विपरित घर भत्काएको घटनाप्रति आपत्ति जनाउंदै उचित क्षतिपूर्ति दिन नगरपालिकासंग माग समेत गरेका छन् ।
उनले सो नगरले भत्काएको घरमै पत्रकार भेटघाट मार्फत सो कुरा बताएका हुन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गदेखि दक्षिण अमरपथ मार्गमा पर्ने कित्ता नं. २६७ को साढे ३ धुर जग्गामा व्यापारिक प्रयोजनको लागि प्रसाईले बनाएको चारतले भवन नगरपालिका आइतबार डोजर लगाएर भत्काएको थियो । जसबाट एक करोडभन्दा वढीको क्षति भएको प्रसाईले जनाएका छन् ।
नगरपालिकाले बाटोको डिपिआर एवं नगरपालिकाले नै दिएको घर–जग्गाको नक्सा पास विपरित घर भत्काएको घटनाप्रति प्रसाईले आपत्ति जनाएका छन् ।
बाटोको सेन्टरबाट ४० फुट बाटो, ढल र सेटब्याट ७ फिट कायम गरि नगरपालिकाले २०७३ जेठ २४ मा घर नक्सा प्रमाणित गरी घर नक्साको प्रमाण दिइसकेको अवस्थामा पूर्वाग्रहपूर्ण ढंगले घर भत्काएर नगर प्रमुख राजेन्द्र पोखरेलले ज्यादती गरेको प्रसाईंको भनाइ छ ।
बाटो निर्माणाधिन रहेकै अवस्थामा २ घर दक्षिणबाट २०७५ पुसमा बनेको डिपिआर विपरित बाटो बङ्ग्याइएको प्रसाईको आरोप छ ।
२०७७ असोजमा नगरपालिकाले घर भत्काउन सात दिने सूचना दिएको जनाउँदै उक्त निर्णय चित्त नबुझेपछि आफू न्यायका लागि अदालतमा पुगेको र २०७७ असोज १५ गते उच्च अदालत इलाममा दर्ता गराएको मुद्दा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार
पोखरेलले खारेज गर्न लगाएको बताउँदै प्रसाईंले न्यायका लागि सर्वोच्च अदालतमा पुगेर नगरप्रमुख पोखरेल, वडा कार्यालय र पूर्वाधार विकास कार्यालय भद्रपुरलाई प्रतिवादी बनाई प्रसाईले दायर गरेको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको र सर्वोच्च अदालतले आगामी पुस ११ गते पेसी तोकेपनि विचाराधिन रहेकै अवस्थामा स्थानीय सरकारले भवन भत्काउनुले न्यायालयप्रतिको पनि अपमान भएको जनाए ।
डिपिआरको अध्ययन, स्थलगत अनुगमन एवं सत्यतथ्य छानवीन गरी आफूलाई न्याय दिलाइदिन पनि प्रसाईले पत्रकार, नागरिक समाज एवं स्थानीय प्रशासनसँग जोडदार माग गरेका छन् ।
यता नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले पूर्व–पश्चिम महेन्द्र राजमार्गदेखि दक्षिण अमरपथ मार्गमा सडक मिचेर बनाइएका घर तथा टहरा हटाउन ३५ दिने सूचना जारी गरेपनि अटेर गरेर नहटाएपछि डोजर लगाएर हटाउन शुरु गरेको बताए । आफूले नियम कानून अनुसार अनाधिकृत रुपमा निर्माण भएका घर तथा टहरा हटाउन शुरु गरेको र यसबाट पछि नहट्ने बताए । साथै उनले प्रसाईले समयमावधि भित्रमा हटाउन आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर डोजर लगाएको बताए ।