लक्ष्मीपुर : मंसीर ४ मा हुने  प्रतिनिधि तथा प्रदेशसभा  निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले  प्रतिष्पर्धा गर्ने भएको छ ।  राष्ट्रिय पार्टीको मान्यता पाएसँगै नेमकिपाले झापामा पहिलो पटक ४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार  उठाउँदै निर्वाचनमा सहभागीता जनाएको बताएको हो ।  

नेमकिपाले बुधबार लक्ष्मिपुरमा पत्रकार भेटघाट मार्फत सो कुरा जानकारी दिएको हो । उसले मादल चुनाव चिन्ह प्राप्त गरेको छ । 

नेमकिपाले  क्षेत्र नम्वर १ मा भने उम्मेद्वारी नदिएको जनाएको छ । 

क्षेत्र नम्वर २ मा प्रतिनिधिसभा सदस्यका लागि महेन्द्र खायमली, क्षेत्र नम्वर ३ मा कृष्णगोपाल छुस्याबाग, ४ मा विक्रम कासिछ्वा र क्षेत्र नम्वर ५ बाट रुद्रवहादुर दाहाल (रुपक) लाई उम्मेद्वार बनाएको पत्रकार भेटघाटमा जानकारी दिइयो । 

त्यस्तै प्रदेशसभा सदस्यका लागि भने  पार्टीले क्षेत्र नम्वर २ मा मात्रै उम्मेद्वारी दिएको जनाएको छ ।  झापा क्षेत्र नम्वर २ को (२) मा सन्तकुमार तामाङलाई उम्मेद्वार बनाएको हो । पार्टीले प्रतिनिधिसभा  र प्रदेशसभा सदस्यका लागि समानुपातिक तर्फको नाम सिफारिस गरेको छ । किरात मोर्चासँग चुनावी तालमेल गर्दै नेमकिपा चुनावी मैदानमा रहेको छ ।

प्रतिवद्धता पत्र सार्वजनिक गर्दै पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक उकेश कवांले नागरिकता विधेयक पारित नभएकै कारण भारतले नेपालमा अघोषित नाकावन्दी गरेको आरोप लगाएका छन् ।  नेपालमा रसायनिक मल भारतले उपलब्ध नगराउँदा देखिएको समस्याबाटै भारतले लगाएको अघोषित नाकाबन्दी भएको पार्टीको आरोप छ । 

पार्टीले माध्यमिक शिक्षा निःशुल्क, अनिवार्य तथा विश्व विद्यालय शिक्षा निःशुल्क, स्वास्थ्य सेवा निःशुल्क र सुलभ गराउन, ज्येष्ठ नागरिक, अशक्त, टुहुरा टुहुरीको व्यवस्थापन गराउन, प्रत्येक प्रदेशमा प्रदेश स्तरीय विश्वविद्यालय र अस्पताल निर्माण गराउन, महिलाको श्रम शक्ति वृद्धि र वालवालिकाको उचित स्यहारका लागि स्थानीयको वडा र टोल टोलमा वाल उद्यान सञ्चालन गराउन, छुवाछुत र छाउपडी प्रथा अन्त्य गराउन पहल गराउने लगायतका एजेण्डा अघि सारेको छ ।

किरात मोर्चाका केन्द्रीय अध्यक्ष नवीन किरातीले घोषणा पत्रमा लेखिएका भन्दा राम्रो काम गरेको देखेर नेमकिपासँग निर्वाचनमासहकार्य गरेको बताएका छन् ।

जीतेन्द्र खायमलीले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन नेपाल कान्तिकारी मजदुर संघका केन्द्रीय सदस्य राजकृष्ण गोराले गरेका थिए ।