बिर्तामोड  : झापाको बिर्तामोड ४ मा रहेको लिटल फ्लावर्स इङ्लिस स्कूलले   अप्सरादेवि स्मृति गायन तथा नृत्य प्रतियोगिता गर्ने भएको छ । 

 स्कुलले गत २०७१ सालबाट सुरु गरेको  यो प्रतियोगितालाई यस वर्षपनि निरन्तरता दिइएको आज मङ्लबार पत्रकार भेटघाटमा जनाइएको हो । स्कुलले आगामी मंसीर २ गते उक्त प्रतियोगिताको फाइनल प्रतिष्पर्धा हुने पनि पत्रकार भेटघाटमा जानकारी दिएको हो । 

विद्यालयका संस्थापक निर्देशक राजेश खड्काकी माता अप्सरादेवि खड्काको स्मृतिमा विद्यालयले उक्त  प्रतियोगिता गर्दै आएको  आएको प्रिन्सिपल विशल क्षेत्री तिम्सिनाले पत्रकार भेटघाटमा जानकारी दिए ।


फाइनल प्रतियोगिताका लागि विद्यालयले यस अघि नै विभिन्न चरणमा विभिन्न विद्यामा प्रतियोगी छनौट गरी सकेको र फाइनल प्रतिष्पर्धाका लागि १० ÷१० जनाले प्रतिष्पर्धा गर्ने विद्यालयका इसीए संयोजक एलपी शर्माको भनाई छ । 

यस अघि नृत्य तर्फ २२२ जना र गायन तर्फ १५१ जना बीच प्रतिस्पर्धा भएको उनले बताए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने चार जनाले जनही २० हजारका दरले र द्वितीय हुने ४ जनालाई नै जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । 

२०७५ सालमा भएको गायन प्रतियोगिताका उत्कृष्ठ विद्यार्थी विवस उप्रेती हाल भोइस अफ पोर्चुगलमा सहभागी हुँदै चारै जना निर्णायकहरुको कुर्सी घुमाउन सफल भएको पनि बताइएको छ ।