विर्तामोड : झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका एमाले उम्मेदवार अग्निप्रसाद खरेलले भारतबाट आउने हात्तीलाई सीमामा नै रोक्ने बताउनु भएको छ ।
वर्षौँदेखि हात्तीको समस्या भोगिरहेका क्षेत्र नम्बर १ का जनतालाई उम्मेदवार खरेलले भारतबाट आउने जंगली हात्तीलाई नेपाल–भारतको सीमा क्षेत्रमा रोक्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भारतबाट सोझै बाहुनडाँगी क्षेत्रमा हुलका हुल आउने जंगली हात्तीलाई रोक्न मेची खोलामा तटबन्धन गर्नु पर्ने बताउनुभयो ।
‘मेची खोलामा ठुलो लगानीमा मजवुत तटबन्धन गर्न सके दुई वटा फाइदा हुनेछ’, उहाँले भन्नुभयोे–‘एउटा भारतबाट आउने हात्ती रोक्न सकिन्छ । अर्को वर्षेनि आउने बाढीका कारण कटान हुँदै आएको खेतीबाली जोगाउन मद्दत पुग्नेछ ।’
एमालेका स्थायी कमिटी सदस्य, झापा इन्चार्ज समेत रहनुभएका पूर्व कानुनमन्त्री तथा महान्यायधिबक्ता खरेलले विभिन्न चुनावी सभामा हात्तीबाट पीडित जनता राति अरु सुत्ने बेलामा उनीहरु जाँगै बस्न बाध्य हुनु परेको बताउनुभयो ।
त्यसकारण हात्ती क्षेत्रका जनताको स्थायी समाधानका लागि अब बन्ने एमालेको बहुमतको सरकारले त्यो काम गर्ने खरेलको भनाई छ ।
यता उहाँका प्रतिस्पर्धी कांग्रेसका महामन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले भारतबाट आएका हात्तीलाई चिडिया खानामा राख्ने बताउनुभएको छ । चुनावी घरदैलो कार्यक्रमलाई विभिन्न ठाँउमा सम्बोधनका क्रममा उहाँले हात्ती रोक्ने एउटै विकल्प चिडिया खानामा राख्नु पर्ने बताउनुभएको हो ।