भद्रपुर : आन्तरिक राजश्व कार्यालय भद्रपुरलेले कर सप्ताह कार्यक्रम शुरु गरेको छ । बिहीबार कार्यालयले ११औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम शुरुवात गरिएको हो ।

कर शिक्षाको माध्यमबाट स्वेच्छिक कर सहभागितामा जोड दिँदै करको दायरा फराकिलो बनाउँदै जाने उद्देश्यका साथ कर सप्ताह मनाउन लागिएको हो । सप्ताह अन्तरगत मंसिर १ देखि ७ गतेसम्म सरोकारवालाहरुसँग अन्तर सम्वाद, छलफल लगायतका कार्यक्रम गरी व्यापक प्रचार–प्रसार र कर सचेतता बढाइने जनाइएको छ ।

20221117_094617

कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर सप्ताहको समुद्घाटन गर्दै समयमा नै कर तिरेर सम्मान पूर्वक आफ्नो कर्म गर्न करदातालाई सुझाव दिए । राज्यले सबै नागरिकलाई करको दायरामा ल्याउने जनाउंदै राज्यले उपलब्ध गराएका सेवा सुविधा उपभोग गर्न आग्रह गरे ।

20221117_083314

कर सप्ताहमा समापन कार्यक्रममा आयकरमा उत्कृष्ट झापा, इलाम, पाँचथरका करदातालाई सम्मान गरिने प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले बताए । त्यस्तै कर्मचारी तर्फ कार्यालय सहयोगी बोधप्रसाद दुलाल भद्रपुर र दीपक घिमिरे इलामलाई नगदसहित सम्मान गरिने उनले जानकारी दिए ।

उनले साताव्यापी कार्यक्रम अन्तरर्गत सचेतनामूलक कार्यक्रमलाई विभिन्न क्षेत्रमा उद्योग वाणिज्य संघहरुसँँग सहकार्य गर्दै सञ्चालन गरिने बताएका छन् । ‘स्वेच्छिक कर सहभागितामा अभिबृद्धि, सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ यस पटकको कर सप्ताह मनाउंदै लगिएको हो ।

उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक मधु पोखरेल, भद्रपुर उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठक, व्यवसायी गोविन्दन पोखरेल, नेपाल चाटर्ड एकाउन्टेन्ट संघ झापाका अध्यक्ष सुशीलकुमार अग्रवाल लगायतले शुभकामना मनतब्य राखेका थिए ।

नेपालमा मूल्य अभिबृद्धि कर शुरु गरेको अवसरमा हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउने गरिएको छ । नेपालमा २०५४ साल मंसिर १ गतेबाट मूल्य अभिबृद्धि कर कार्यान्वयनमा ल्याइएको थियो । २०६९ कात्तिक २ गतेको मन्त्रिपरिषदको बैठकले हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउने निर्णय गरेअनुरुप नै यो दिवस मनाइने गरिएको छ ।