आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभर १० हजार ८९२ मतदान स्थल र २२ हजार २ सय २७ वटा मतदान केन्द्र तयार भएका छन । शुक्रबार मतदानस्थल पुगेका कर्मचारी र सुरक्षाकर्मीले मतदान केन्द्र निर्माण गरेका हुन ।
त्यस्तै १ सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार ९ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा खटिएका छन ।
निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।
प्रदेशसभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि तीन हजार दुई सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार सात सय आठ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ ।
यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल पाँच हजार छ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार नौ सय सात उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा छ ।