स्वीट्जरल्यान्डले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘जी’ अन्तर्गत अल जानोव स्टेडियममा आज भएको खेलमा स्वीट्जरल्यान्डले क्यामरुनलाई एक शुन्य गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा स्वीट्जरल्यान्डलाई जिताउन ब्रील इम्बोलोले गोल गरे ।
इम्बोलोले ४८औं मिनेटमा जार्हेदन साक्वीरीको पासमा गोल गरेका हुन । पहिलो जितसँगै स्वीट्जरल्यान्डले तीन अंक बनाएको छ । क्यामरुनले हारबाट खेलको सुरुवात गरेको छ । यही समूहमा रहेको ब्राजिल र सर्वियाको खेल राति १२ः४५ बजे हुँदैछ । अहिले समूह ’एच’ को उरुग्वे र दक्षिण कोरियाबीचको खेल जारी छ ।
तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच राति ९ः४५ बजे प्रतिस्पर्धा हुनेछ । चौंथो खेलमा ब्राजिलले सर्बियासँग १२ः४५ बजे प्रतिस्पर्धा गर्नेछ । मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।
यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।