झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०७९ ÷ ०८० मा १० करोड ७ लाख ४८ हजार ४ सय २० रुपैयाँ ५२ पैसा खुद नाफा गरेको छ । 

२२ औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आज शुक्रबार संस्थाले मुख्य कार्यालयमा आयोजना  गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा उक्त कुरा जानकारी दिइएको हो । 

प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष टसबहादुर प्रधानले संस्थाको लक्ष्य अनुसार नाफा कमाउन नसके पनि सन्तोष जनक प्रगति गरेको बताए । 

५० हजार ६ सय ८४ जना शेयर सदस्य रहेको संस्थको  ४३ करोड ७४ लाख ४ हजार एक सय शेयर पुंजी रहेको पनि उनले जानकारी दिए । उनका अनुसार संस्थाको  १० करोड ७८ लाख ८८ हजार ४ सय २ रुपैयाँ जगेडा कोष रहेको छ । 

तीन जिल्लाका २६ पालिकाबाट सेवा दिंदै आएको संस्थाले  इकाइगत ७ वटा साधारणसभा सम्पन्न गरेर पुस २४ गते माइन्यूट प्रमाणिकरण गर्ने संस्थाका अध्यक्ष प्रधानले जानकारी दिए ।

उर्लाबारी, दमक, सुरुङा, धुलावारी, भद्रपुर र बिर्तामोडमा इकाइगत साधारणसभा गर्दै साधारणसभा सम्पन्न गर्ने संस्थाका कार्यकारी प्रमुख कुमार याक्सोले जानकारी दिए । 


संस्थामा निष्कृय १५ सय ४१ सदस्यको सदस्यता खारेजी गर्ने तयारी गरेको पनि उनले  बताए । संस्थाको आर्थिक वर्ष ०७८–७९ मा  बैंक कर्जा १ अर्व २१ करोड ३१ लाख ७७ हजार ४२४ रुपैयाँ ,  ३ अर्व ४६ करोड ७९ लाख ४० हजार १२६ रुपैयाँ लगानी रहेको प्रतिवेदनमा उल्लेख छ । 

संस्थाले पाँच जना ऋणीको धितो लिलामी गर्ने प्रस्ताव साधारणसभा लैजाने तयारी गरेको छ । साधारणसभाबाट ऋणीको धितो वापत राखिएको जग्गा लिलामीको निर्णय गराई विक्री गर्ने तयारी गरेको हो ।


संस्थाका अध्यक्ष प्रधानका अनुसार (जमिनको ठेगानाका आधारमा ) साविक खजुरगाछी–३ कि ऋणी महगीकुमारी महतो, बाहुनडाँगी कि कोपिला कार्की, धुलावारी–४ कि चन्द्रकुमारी खड्का, बाहुनडाँगी–५, शिवगञ्ज –७ का पर्शुराम पोखरेल र भद्रपुर–३ कि कुमारी मगरको धितो वापत राखिएको धितो लिलामी गरिने छ ।


लिलामी मुल्य महतोको ८ लाख ८० हजार, कार्की ९ लाख ७२ हजार, खड्का ६० लाख, पोखरेल ४१ लाख ६८ हजार र मगरको १२ लाख ५१ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । कर्णालीका अध्यक्ष श्रेष्ठले सदस्यको धितो लिलामी गर्ने उद्देश्य संस्थाको नरहे पनि बाध्यताले लिलामी गर्न लागेको जानकारी दिए ।

संस्थाले यस आर्थिक बर्षमा बिभिन्न समस्यामा परेका ऋणि शेयर सदस्यहरुलाई १३ लाख ४२ हजार ८७७ रुपैयाँ २८ पैसा ब्याज छुट, संस्थाको नीति तथा कार्यक्रम अनुसार सदस्यहरुको परिवारको मृत्यु अन्तरगत ७७२ जनालाई ६९ लाख ३ हजार ९८० रुपैयाँ, उपचार

खर्च वापत ११५१ जनालाई १ करोड ६७ लाख ३४ हजार १४८ रुपैयाँ र ३२ जना ऋणि सदस्यको मृत्युमा १९ लाख २१ हजार ६०१ रुपैयाँ कर्जा मिनाह गरीएको प्रतिवेदनमा उल्लेख छ । 

कार्यक्रममा संस्थाका कोषाध्यक्ष एकराज बिष्ट, सञ्चालक समिति सदस्यहरु गणेशप्रसाद पराजुली, गुञ्जन थापा, जानुका न्यौपाने ओली, निर्मला पाठक लुइटेल, कुमारीदेबी खड्का भट्टराई लगायतको उपस्थिति रहेको थियो । 

pic karnali