झापाको कनकाई नगरपालिका ३ का वडासदस्य गोविन्द सुवेदी तथा उनकी छोरी युनिका सुवेदीले सामाजिक कार्य गर्दै जन्मदिन मनाएका छन् ।
सुवेदी बाबुछोरीले आफ्नो जन्मदिनमा गरिने अनावश्यक फजुल खर्च कटाएर स्थानीय सुकुम्बासी बस्तीका २० जना सन्थाल वालबालिकालाई जाडोको न्यानो कपडा वितरण गरेर जन्मदिन मनाएका हुन् । साथै उनीहरुले जन्मदिनको अवसरमा आज शनिबार स्वास्थ्य शिविरको आयोजना समेत गरेका थिए ।
बालबालिकालाई जाडोको स्वीटर र सुकुम्वासी वस्तीमा चिकित्सक सहितको टोली पुगेर निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै उनीहरुले निशुल्क औषधि समेत वितरण गरेका थिए ।
हरेक बर्ष विपन्न समुदायका नागरिकहरुलाई लक्षित गरेर आफ्नो जन्मदिन मनाउँदै आएको र आफुले जन्मदिनमा गरिने फजुल खर्च कटौति गरेर उनीहरुलाई सकेको सहयोग गरेको गोविन्द सुवेदीले बताए ।
सुवेदी परिवारले गरेको सामाजिक कार्यको प्रशंसनिय रहेको कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाईले बताए ।
स्वास्थ्य शिविरमा कनकाई नगर अस्पतालका डाक्टर अभिषेक नायक र स्वास्थ्यकर्मी पवन पोखरेल सहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो ।
कार्यक्रममा एक सय वढी विभिन्न रोगी विरामीहरुलाई स्वास्थ्य जाँच गरि निशुल्क औषधि समेत प्रदान गरिएको थियो । युनिका समेत स्टाप नर्सकी विद्यार्थी हुन् । गोविन्दकी माता यमुना सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा कनकाई नगरपालिका २ का वडाअध्यक्ष प्रताव राई, कार्यपालिका सदस्य कृष्णमाया भुजेल, नवलकिसोर दत्त, वार्ड सदस्य अनिल गोयल, एमाले नेता टंकबहादुर
कार्की, खडगप्रसाई, विनोद राना, सुरुङ्गा बजार व्यावस्थापन समितिका अध्यक्ष मनोहरी बिमली, टोल विकास समितिका अध्यक्ष विनोद भण्डारी लगयातको उपस्थिति रहेको थियो ।
यसअघि पनि सुवेदीले त्यस क्षेत्रको पुकार अपाङ्ग सरोकार समाज लगायातका संघ संस्थामा पुगेर आफ्नो छोरा छोरीको जन्मदिन मनाउंदै आएका छन् ।