झापाको बिर्तामोड नगरपालिका २ स्थित चैतुबारीमा रहेको पञ्चरत्न माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई नृत्य प्रशिक्षण कक्षा सुचारु गरेको छ ।
विद्यालयले आज (मंगलबार) बाट एक कार्यक्रमबिच विद्यार्थीहरूलाई नृत्य कक्षा सुचारु गरेको हो । साताको एक दिन नृत्य प्रशिक्षण कक्षा सञ्चालन गरिने बताइएको छ ।
पढाईको अवला विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समावेश गर्दै उनीहरुको क्षमता अभिबृद्धिमा जोड दिन विद्यालयले नृत्य कक्षा सुचारु गरेको विद्यालयका प्रधानाध्यापक योगेन्द्रमणि दाहालले बताए ।
कक्षा ५ देखि १० सम्मका इच्छुक विद्यार्थीहरूले नृत्य प्रशिक्षणमा सहभागि हुन सक्नेछन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानीप्रसाद ओलीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा शिक्षा बहुउदेशिय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपाने, बालबालिका तथा शिक्षा सञ्चार प्रमुख सरोज पौडेल लगायतले मनतब्य राखेका थिए ।
बालबालिका तथा शिक्षा सञ्चार प्रमुख सरोज पौडेलको सहजिकरणमा सुरु भएको नृत्य कक्षा सञ्चालनको लागि स्थानीय युवा व्यवसायी गोविन्द गिरीले ११ हजार सहयोग प्रदान गर्ने घोषणा गरेको बालबालिका तथा शिक्षा सञ्चार प्रमुख पौडेलले बताए ।
मनीषा लिम्बू र चोलोहाङ लिम्बुले नृत्य प्रशिक्षण दिने छन् । पहिलो चरणमा ४० जना विद्यार्थीहरूले नृत्य प्रशिक्षणमा भाग लिएको विद्यालयले जनाएको छ । कार्यक्रमको सञ्चालन शिक्षक दलबहादुर खड्काले गरेका थिए । कार्यक्रममा विद्यालयका बाल क्लबका पदाधिकारी तथा फोकल पर्सनलाई व्याच समेत वितरण गरिएको थियो ।