झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबारदेखि सुरु भएको बिर्तामोड युनाइटेड इण्डो नेपाल च्यालेन्ज कप फुटबलमा काठमाडौँको सुनाकोठी सिटी एफसीले गोल वर्षा गरेको छ । सुनाकोठीले भारत सिलिगुडीको जक्सन स्टार एफसीको गोल पोस्टमा ६–० गोल गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
खेलका म्यान अफ दी म्याच सुनाकोठीका शिशिर लखी घोषित भए । उनलाई मुख्य प्रायोजक एनीका सञ्चालक सन्तोष थोप्राले नगद २ हजार ५ सय प्रदान गरे ।
आज (बिहीबार) आयोजक बिर्तामोड युनाइटेड एफसीले सुनसरीको पाञ्चायन एफसीसँग दोस्रो क्वाटरफाइनल खेल खेल्नेछ ।
मंसिर २८ गते हुने फाइनल खेलको विजेताले नगद २ लाख २२ हजार र उपविजेताले नगद १ लाख ११ हजार र ट्रफी पाउने आयोजक क्लबका अध्यक्ष भुपेन लिम्बुले बताए ।
क्लबका अध्यक्ष लिम्बूको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतराको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत, बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी, ५ का अध्यक्ष रोहित प्रसाई, ६ का अध्यक्ष सुर्य कन्दङ्वा लगायतको बिशेष आतिथ्यता रहेको थियो ।
आयोजक क्लबका सचिव सन्तोष राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।