झापाको बिर्तामोड नगरपालिकाका नगर प्रहरीका इन्चार्ज किरण पाण्डेले घुस मागेको स्थानीयले आरोप लगाएका छन् ।
बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलकै सामुन्ने नगर प्रहरीका इन्चार्ज पाण्डेले घुस मागेपछि केहि समय स्थानीय र पाण्डेबिच विवाद उत्पन्न भएको थियो ।
आज शुक्रबार अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस हो । तर बिर्तामोड नगरमा अनावश्यक रुपमा जरिवाना बाहेकको रकम नगर प्रहरी पाण्डेले मागेको रबिन्द्रकुमार भारतीको आरोप छ ।
उनलाई बिर्तामोड बसपार्क पूर्वपट्टि चिया बगान नजिकै मोटरसाइकलमा फोहोर फाल्दै गरेको अवस्थामा फोहोरको पोको सहित नगर प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो ।
भारतीले शुक्रवार नगरपालिकामा आएर फोहोर फालेवापत ४ हजार रुपैयाँ जरिवाना वापत रकम तिरेका थिए । अबदेखि जथाभावी फोहोर नफ्याक्ने शर्तमा उनलाई कागज गरिएको थियो ।
त्यसपछि मोटरसाइकलको चाबी माग्न आफु नगर प्रहरी इन्चार्ज पाण्डेसंग गएको भारती बताउंछन् । तर पाण्डले आफुलाई १ हजार घुस मागेको उनीको भनाई छ ।
जरिवाना बापतको रकम तिरीसकेपछि अतिरिक्त रकम मागेपछि त्यहां विवाद भएको थियो । कार्यकारी प्रमुखले १ हजार रकम लिएर मात्र छोड्नु भनेको छ, भन्ने जवाफ आफुलाई घटनाका बारेमा सोध्दा नगर प्रहरी इन्चार्ज पाण्डेले दिएको वडाध्यक्ष खरेल बताए ।
नागरिकले लाग्ने जरिवाना बुझाएपछि पनि अतिरिक्त रकम माग्नु ठिक नभएको वडाध्यक्ष खरेल बताउंछन् । बिलबिना इन्चार्ज पाण्डेले घुसको लागि रकम मागेको भन्दै वडाध्यक्ष खरेलले विरोध जनाएका छन् ।
आफू जनप्रतिनिधिकै अगाडि त्यसरी घुस माग्नु भनेको बिर्तामोडमा नीतिगत भ्रष्टाचार व्याप्त देखिएको उनले बताए । तर यता आरोप लगाइएका पाण्डे भने आफुले घुष नमागेको दाबी गरे । घटनापछि भेला भएको भीडले घुस माग्ने पाण्डेसहितका नगर प्रहरीलाई हातपात समेत गरेका थिए ।
घुस माग्ने पाण्डेलाई तत्काल कामबाट निकाल्नु पर्ने भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । नगर प्रहरीले यसअघि पनि अन्य ब्यक्तिसंग बिभिन्न बाहानामा अतिरिक्त रकम माग्ने गरेको स्थानीयको आरोप छ ।