झापा  : झापाको बिर्तामोडमा जारी एनी बिर्तामोड युनाइटेड इण्डो नेपाल च्याम्पियन कप फुटबल प्रतियोगितामा सुनसरीको धरान सिटी एफसी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । धरानको जितसँगै सेमी समीकरण पूरा भएको छ ।

डोमालाल राजवंशी रंगशालामा भएको खेलमा सुनसरीकै एपीएफ पकलीलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै धरान सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि ललितपुर, इलाम र आयोजक बिर्तामोड सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

आजको खेलमा धरानका लागि मिलन राईले ह्याट्रिकसँगै व्यक्तिगत ४ गोल गरे । एपीएफका लागि उज्वल राईले सान्त्वना गोल गरे । आजको खेलको म्यान अफ दी म्याच धरानका मिलन राई घोषित भए । उनले नगद २ हजार ५ सय प्राप्त गरे । भोलिको पहिलो सेमिफाइनल खेल इलामको रेडहर्ष एफसी र ललितपुरको सुनाकोठी सिटीएफसीबीच हुनेछ ।

मंसिर २८ गते हुने फाइनल खेलको विजेताले नगद २ लाख २२ हजार र उपविजेताले नगद १ लाख ११ हजार र ट्रफी पाउने छ ।