बिर्तामोड  : झापाको बिर्तामोड नगरपालिकाका नगर प्रहरीका इन्चार्ज किरण भनिने ढलकबहादुर पाण्डे र सह(कमाण्डर राजकुमार खड्का निलम्बित भएका छन् । 

भ्रष्टाचारमा मुछिएपछि उनीहरु दुवैलाई नगरपालिकाले निलम्बन गरेको हो । बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलकै सामुन्ने नगर प्रहरीका इन्चार्ज  पाण्डेले साता अघि नगरपालिका परिसरमै घुस मागेका थिए । 


उनीहरुको विषयमा छानबिन गर्न नगरपालिकाले वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । 

जसको सदस्यहरुमा नायब सुब्बा मेघराज बाँस्तोला र न्यायिक समितिकी टीकामाया लामिछाने रहेका छन् । त्यस समितिले उनीहरुमाथि छानबिन शुरु गरिसकेको र छानबिनका लागि आरोपित दुवैलाई निलम्बन गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए ।

 समितिले एक महिनाको कार्य अवधि पाएको छ ।  त्यस्तै अन्य घटनामा पनि उनी मुछिएका छन् ।पदको दुरुपयोग गर्दै पाण्डे र खड्काले मनोमानी गरेको नगर प्रहरीको सिंगो टीमले आरोप लगाएका छन् । 

बिर्तामोड नगरपालिकामा १५ जना नगर प्रहरी छन् । त्यसमध्ये सबै १३ जना पाण्डे र खड्काको विरुद्धमा देखिएका छन् । बिर्तामोड नगरमा अनावश्यक रुपमा जरिवाना बाहेकको रकम नगर प्रहरी पाण्डेले  रबिन्द्रकुमार भारतीसंग मागेका थिए ।  

भारतीलाई  बिर्तामोड बसपार्क पूर्वपट्टि चिया बगान नजिकै मोटरसाइकलमा फोहोर फाल्दै गरेको अवस्थामा फोहोरको पोको सहित नगर प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो । 

 भारतीले  नगरपालिकामा आएर फोहोर फालेवापत  ४ हजार रुपैयाँ जरिवाना वापत रकम तिरेका थिए । अबदेखि जथाभावी फोहोर नफ्याक्ने शर्तमा उनलाई कागज गरिएको थियो ।  

त्यसपछि मोटरसाइकलको चाबी माग्न   नगर प्रहरी इन्चार्ज  पाण्डेसंग जाँदा आफुलाई १ हजार घुस मागेको भारतीले आरोप लगाएका थिए ।