अर्जुनधारा : नेपाली घरेलु मदिराको ब्राण्डिङ, बजारीकरण तथा प्रवर्द्धनका विषयमा सम्भाव्यताकालागि झापाको अर्जुनधारा नगरपालिकामा सरोकारवाला निकायसंग अन्तरक्रिया गरिएको छ ।
घरेलु रक्सी प्रवर्द्धन गर्ने उदेश्यले शनिबार नगरले कृषिमन्त्री झलकसिंह दर्लामी, घरेलु रक्सी प्रवर्द्धन समितिका सदस्य तथा जनप्रतिनिधिसंग छलफल गरेको हो ।
घरेलु मदिराको ब्रान्डिङ गरी विदेश निर्यात तथा स्वदेशमै खपत गर्न सके रक्सीका नाममा करोडौं बाहिरीने रकम रोकिने भन्दै आफुहरु लागिपरेको र त्यसकालागि छलफल चलाइएको नगर प्रमुख बलदेवसिंह गोम्देन बताउंछन् ।
नगर प्रमुख गोम्देनले घरेलु रक्सीलाई ब्राण्डिङ गर्ने सवालमा नगरले सहयोग गर्ने बताउंदै त्यसकालागि आवश्यक जग्गा उपलब्ध गराउन प्रतिबद्धता ब्यक्त गरेका थिए ।
प्रचलित मदिरा ऐन २०३१ तथा मदिरासम्बन्धी नियमावली २०३३ लगायत विभिन्न निर्देशनहरूले घरेलु मदिरालाई प्रतिबन्धित वस्तुको रूपमा उल्लेख गरेको छ ।
त्यस्ता कानुन संशोधन तथा समयानुकूल परिमार्जन गर्न बाँकि रहे पनि घरेलु मदिरा उत्पादन भने दैनिक बढ्दो छ ।
तर्सथ पनि घरेलु मदिरा उत्पादनमा रोक लगाउन नभइ त्यसको प्रवर्द्धनमा ध्यान दिन आवश्यक भएको नगरप्रमुख गोम्देनको भनाई थियो ।
कार्यक्रममा परम्परागत पेय पदार्थ ब्रान्डिङ गर्न अभिप्रेरित गर्न अभियान थालिएको घरेलु रक्सी प्रवर्द्धन समिति प्रदेश १ का अध्यक्ष टेकबहादुर खजुमले बताए ।
कार्यक्रममा कृषिमन्त्री दर्लामीले हाम्रो जमिन बाँझिन थालेकोले कोदो बालीको उत्पादन गर्न अभियानले सघाउ पु¥याउने भन्दै प्रदेश सरकारले यसलाई सकारात्मरुपमा लिएको बताएका थिए ।
पुराना कानुन परिमार्जन तथा समयसापेक्ष ऐन कानुनमार्फत यसको उत्पादन गरी विदेश निर्यात गर्ने वातावरण बनाउन सके सहज हुने उनको भनाई थियो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोम, संविधानसभा सदस्य प्रेम गिरी लगायतले बोलेका थिए ।
नगर उप–प्रमुख कमला खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चलान सुचना अधिकारी तथा योजना अधिकृत हेमराज सेढांइले गरेका थिए ।
नगरको स्वामित्वमा वडा २ र वडा ५ मा भएको जग्गाको निरिक्षण समेत गरेको थियो । कार्यक्रममा जनप्रतिनिधि विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।